५० हजार वर्षपछि पृथ्वी नजिक हरियो पुच्छ्रेतारा, दूरबिनबाट हेर्न सकिने

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाण्डाै – ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । हरियो पुच्छ्रेतारालाई यो हप्ताभरी नेपालबाट पनि दूरबिनको सहायताले देख्न सकिने खगोलविद्ले बताएका छन् । तर, सहरी क्षेत्रबाट भने देखिने  सम्भावना कम छ । यो पुच्छ्रेतारा हेर्नका लागि अग्लो ठाउँमा जानुपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

प्रकाश र प्रदूषण बढी हुने सहरी क्षेत्रबाट देखिने सम्भावना कम भएको उहाँले बताउनुभयो । ‘काठमाण्डौलगायतका सहरमा यो ताराको चमकभन्दा बढी प्रकाश र प्रदूषण छ’, उहाँले भन्नुभयो– ‘त्यसैले डाँडाकाँडाबाट मात्रै यसलाई देखिने सम्भावना छ ।’ यसअघि नाङ्गो आँखाले पनि यो तारा देख्न सकिने अनुमान गरिए पनि त्यो सम्भावना कम हुँदै गएको भट्टराईले बताउनुभयो । खगोलशास्त्री भट्टराईका अनुसार मध्यरातमा दूरबिनको प्रयोग गरेर पनि पुच्छ्रेतारा हेर्न सकिन्छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा गएको वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो । त्यतिबेला यो पिण्ड वृहस्पति ग्रहको कक्षभित्र थियो । वैज्ञानिकका अनुसार यो पुच्छ्रेतारा बरफ, धुलो र चट्टान मिलेर बनेको हुन्छ । उत्तरी गोलार्द्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ ।

पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुने नासाले जनाएको छ । यसअघि जनवरी १२ तारिखमा यो पुच्छ्रेतारा सूर्यनजिकै पुगेको थियो । कुनै एउटा पिण्ड चिसो वायुमण्डलमा विकास हुने र आफ्नो गतिमा चल्दै सौर्यमण्डल पुग्दा सूर्यको गुरुत्वाकर्षणले आफूतर्फ तान्ने भएकाले त्यो अन्तरक्रियाको क्रममा एउटा चित्ताकर्षक खगोलीय वस्तु बन्ने र त्यो वस्तु नै पुच्छ्रेतारा भएको वैज्ञानिकहरुको  भनाइ छ ।

तस्बिर : बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित