गोलबजार व्यापार संघको चुनावमा राजनीतिक शक्ति प्रदर्शन, महेश र राकेशबीच प्रतिस्पर्धा रोचक बन्दै

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

सिरहा । आगामी मंसिर ४ गते हुने गोलबजार व्यापार संघको निर्वाचनमा राजनीतिक दलहरूको सक्रियता बढेसँगै चुनावी माहोल थप तातेको छ। अध्यक्ष पदका लागि महेश साह सुडी (कोक्वा) र राकेश गुप्ताको उम्मेदवारी अघि सारिएपछि निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ।

नेपाली कम्युनिस्ट पार्टीसहित विभिन्न पक्षको समर्थनमा महेश साह सुडी नेतृत्वको समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेको छ। यसैबीच, उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र शिव यादवसहितका नेताहरूको उपस्थितिमा राकेश गुप्तालाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको छ।

गुप्तालाई पार्टीका नेताहरूले टीका र खादा लगाएर उम्मेदवारीका लागि अघि सारेपछि व्यापार संघको निर्वाचनमा राजनीतिक दलहरूको प्रभाव स्पष्ट देखिन थालेको छ। यससँगै व्यवसायीहरूको साझा संस्थाको नेतृत्व चयनमा दलहरूको भूमिका कति हुनुपर्छ भन्ने बहससमेत सुरु भएको छ।

रोचक पक्ष के छ भने गुप्ता यसअघि नै दुई कार्यकाल कार्यसमितिमा बसेर काम गरिसकेको भन्दै अब व्यापार संघको निर्वाचनमा नउठ्ने बताउँदै आएका थिए। स्थानीय तहको आगामी निर्वाचनमा सहभागी हुने तयारी गरिरहेको चर्चा चलिरहेकाले पनि उनी व्यापार संघको चुनावी मैदानमा नआउने धेरै व्यवसायीको अनुमान थियो।

तर, अन्तिम समयमा उम्मेदवारीका लागि तयार भएका गुप्ताले आफ्नो निर्णयमा राजनीतिक दलको दबाब नभई व्यवसायीहरूको आग्रह प्रमुख कारण रहेको दाबी गरेका छन्।

‘पार्टीको दबाबभन्दा पनि गोलबजारका समग्र व्यवसायीहरूको दबाबपछि मात्रै अन्तिम समयमा उम्मेदवारीका लागि राजी भएको हुँ,’ गुप्ताले भने, ‘म व्यापार संघको चुनावमा भाग लिने मनसायमै थिइनँ। सम्पूर्ण व्यवसायीहरूको अनुरोधपूर्ण दबाबपछि मात्रै उम्मेदवार हुन तयार भएको हुँ। यसमा पार्टीको संलग्नता छैन।’

गोलबजारको व्यावसायिक पहिचान फराकिलो बनाउन नयाँ र सक्षम नेतृत्व आवश्यक रहेको भन्दै व्यवसायीहरूले आफूलाई अघि बढ्न आग्रह गरेको उनको भनाइ छ।
दुई कार्यकाल कार्यसमितिमा बसेको व्यक्ति कसरी नयाँ नेतृत्व हुन सक्छ भन्ने प्रश्नमा गुप्ताले आफू यसअघि प्रमुख पदमा नरहेकाले सोचेजस्तो काम गर्न नसकेको जवाफ दिए। ‘म प्रमुख पदमा नभएकाले भनेजस्तो गर्न सकिएन।

अब व्यवसायीहरूले मौका दिनुभयो भने अवश्य केही नयाँ काम गरेर देखाउँछु,’ उनले भने।
पार्टीका नेताहरू उम्मेदवारी घोषणाका क्रममा आफूहरूलाई समग्र व्यवसायीलाई समेटेर अघि बढ्न सुझाव दिन आएको उनको दाबी छ। यद्यपि, पार्टीका नेताहरूको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको घटनाले उनको स्वतन्त्र उम्मेदवारीको दाबीमाथि प्रश्न उठाएको छ।

अर्कोतर्फ, महेश साह सुडीले आफूलाई सर्वसम्मत उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। उनले हिजोसम्म धेरै व्यवसायीले आफ्नो समर्थन गरिरहेको अवस्थामा एकाएक केही साथीहरू अर्को पक्षमा गएको भन्दै आश्चर्य व्यक्त गरे।

‘म सर्वसम्मत उम्मेदवार हुँ। हिजोसम्म धेरैले मेरै समर्थन गरिरहनुभएको थियो। आज एकाएक साथीहरू किन फेरिनुभयो, मलाई थाहा भएन,’ सुडीले भने, ‘तर साथीहरूलाई मिलाउने प्रयास भइरहेको छ। चुनावसम्म सबै मिल्नुहुन्छ होला।’

यसअघि व्यवसायीहरूको साझा संस्था हुनुपर्ने भन्दै आएको व्यापार संघको निर्वाचनमा अहिले राजनीतिक दलनिकट समूहहरू सक्रिय देखिन थालेका छन्। त्यसैले यसपटकको निर्वाचन केवल अध्यक्ष चयनमा सीमित नरही गोलबजारका व्यवसायीमाझ राजनीतिक प्रभाव र संगठनमाथिको स्वामित्वको प्रतिस्पर्धासमेत बन्ने देखिएको छ।

मंसिर ४ गतेका लागि तय भएको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता बुधबार हुने निर्वाचन कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित