सिरहा, २८ भदौ। सिरहा गाउँ ब्लकको जग्गा नापी भएको करिब १२ वर्षपछि सिरहाको गोलबजार नगरपालिका–२ लालपुरका बासिन्दाले आफूले भोगचलन गर्दै आएको जग्गा दर्ता गराउन पाउने भएका छन् ।गोलबजार नगरपालिका–२ को वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लकअन्तर्गतको जग्गा भोगचलन गरिरहेका जग्गाधनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ।
वडा अध्यक्ष सुकदेव सिंहको पहलमा नापी कार्यालयका कर्मचारीलाई वडा कार्यालयमै बोलाएर जग्गा दर्ताको निवेदन लिने व्यवस्था मिलाइएको छ। उनका अनुसार सेवाग्राहीलाई लहानस्थित नापी कार्यालयसम्म आउजाउ गर्नुपर्ने खर्च र कागजात नमिलेका कारण हुने झन्झट कम गर्न वडा कार्यालयले आफ्नै खर्चमा यस्तो व्यवस्था गरेको हो।
“नापी कार्यालयसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न कर्मचारीलाई वडामै बोलाएका छौँ। निवेदन तयार पार्नसमेत वडा कार्यालयले सहयोग गर्छ,” अध्यक्ष सिंहले भने।
उनका अनुसार भदौ २९ गते सोमबारदेखि एक सातासम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म वडा कार्यालयबाट निवेदन लिइनेछ।
साविक लालपुर गाविसअन्तर्गत वडा नम्बर ३ देखि ८ सम्मका २७ कित्तामा रहेको करिब २० बिघा गाउँ ब्लक जग्गा आर्थिक वर्ष २०७१/७२ मा नापी गरिएको थियो।
नापी विवरणअनुसार साविक वडा नम्बर २ मा सात, वडा नम्बर ४ मा दुई, वडा नम्बर ५ मा चार, वडा नम्बर ६ मा पाँच, वडा नम्बर ७ मा तीन र वडा नम्बर ८ मा छ कित्ता गाउँ ब्लकको जग्गा नापी भएको वडा अध्यक्ष सिंहले जानकारी दिए।
नापी भएको लामो समय बितिसक्दा पनि जग्गा दर्ताको प्रक्रिया अघि बढ्न नसकेको स्थानीयको गुनासो छ। अहिले वडा कार्यालयले निवेदन संकलनको प्रक्रिया अघि बढाएपछि वर्षौंदेखि भोगचलन गर्दै आएका जग्गाधनीले आफ्नो जग्गा कानुनी रूपमा दर्ता गराउन पाउने अपेक्षा गरिएको छ।


















Discussion about this post