जुवाको खालबाट गाउँपालिका अध्यक्ष र प्रहरी इन्सपेक्टर सहित ८ जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

जनकपुरधाम । पर्सा प्रहरीले वीरगञ्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रहरी इन्सपेक्टर प्रदीप पौडेलसहित पक्राउ परेका ८ जनाको नाम सर्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन गरेको थियो ।
प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव जो सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष पनि हुन्, उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो । अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित हुन् ।

३६ वर्षीय पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेको प्रहरी स्रोतले बताएको छ ।
त्यसैगरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी, पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यता, यही प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीले क्यासिनोको हार्ड डिक्स, कागजात, कम्प्युटर र सिसिटिभीको डिभिआर बक्स पनि नियन्त्रणमा लिएको छ।
प्रदेशका उत्कृष्ट प्रहरी थिए पौडेल
जिल्ला प्रहरी पर्साका एसपी पवनकुमार भट्टराईले पक्राउ पुष्टि गर्दै इन्स्पेक्टर पौडेल २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीद्वारा नगदसहित पुरस्कृत भएको जानकारी दिए ।
प्रहरीका अनुसार शनिबार राति ड्युटी छोडेर उनी गाउँपालिका अध्यक्ष र केही स्थानीय व्यवसायीसहित क्यासिनोमा गएका थिए ।
प्रहरीकै संरक्षणमा नेपालीलाई निर्वाध क्यासिनो खेल्न दिइएको सूचना पाएपछि एसपी भट्टराई आफैँ त्यहाँ पुगेर छापा मारिएको थियो । इन्स्पेक्टर पौडेल गत वर्ष असोज अन्तिम साता पौडेल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट वीरगञ्ज गएका हुन् । नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित