चोहर्वामा मटका फोड प्रतियोगिता : भाइजीटोल यादव टिम प्रथम, बाढीपीडितलाई विजेता टिमको आर्थिक सहयोग

Picture of हरियो पाटी

हरियो पाटी

539
SHARES
738
VIEWS

गोलबजार, २० भदौ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित ‘मटका फोड’ प्रतियोगिता सम्पन्न भएको छ ।
चोहर्वा कृष्ण जन्माष्टमी मेला समितिको आयोजनामा भएको प्रतियोगितामा भैजीटोल यादव टिम प्रथम भएको छ। उक्त टिमले ४७ सेकेन्डमै मटका फोडेर प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै रोशन मण्डल (चेरी) भैजीटोल टिम दोस्रो भएको छ। उक्त टिमले १ मिनेट १२ सेकेन्डमा मटका फोडेको थियो। रबिन कुमार मण्डल, पानवारी टिम २ मिनेट १६ सेकेन्डमा मटका फोड्दै तेस्रो भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३१ हजार १५५, दोस्रोलाई रु. २१ हजार १५५ र तेस्रोलाई रु. १५ हजार १५५ नगदसहित ट्रफी प्रदान गरिएको मेला समितिले जनाएको छ। प्रतियोगितामा सहभागी अन्य दुई टिमलाई सान्त्वनास्वरूप रु. ५ हजार ५५५ का दरले पुरस्कार प्रदान गरिएको थियो।

कृष्ण जन्माष्टमीको अवसरमा बाँसको लिङ्गो निर्माण गरी करिब २२ फिटको उचाइमा माटोको भाँडो (मटका) झुन्ड्याइन्छ। युवाहरूले एकअर्काको काँधमाथि चढ्दै मानव पिरामिड बनाएर मटका फुटाउने परम्परा रहेको छ। सबैभन्दा कम समयमा मटका फुटाउने टिमलाई प्रथम तथा त्यसपछि क्रमशः दोस्रो र तेस्रो घोषणा गर्ने गरिएको आयोजकले जनाएको छ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा चोहर्वामा मटका फोड प्रतियोगिता हुँदै आएको छ। शुक्रबार आयोजना गरिएको प्रतियोगिता वर्षाका कारण स्थगित भएपछि बाँकी प्रतियोगिता शनिबार बिहान सम्पन्न गरिएको आयोजकले जनाएको छ।

यसैबीच, भोटेकोशी नदीमा आएको अकस्मात् बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रथम भएको भैजीटोल यादव टिम र दोस्रो भएको रोशन मण्डल (चेरी) भैजीटोल टिमले राहतका लागि जनही रु. ५ हजार नगद सहयोग गरेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै स्थानीय युवाबीचको एकता र भाइचारालाई समेत बढावा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित