निमुखाको खाना र नानासँग जोडिएको बानियाँको सम्बन्ध

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

हेटौंडा । व्यवसायी, राजनीतिज्ञ मात्र नभई चर्चित समाजसेवीको रुपमा पनि जोडिएर आउने नाम हो इन्द्रबहादुर बानियाँ । आगामी निर्वाचनका लागि गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र-१ को प्रदेशसभा ‘ख’ को बलियो उम्मेदवारको रुपमा रहेका छन् । अबको बागमती प्रदेशको मुख्यमन्त्रीका बलिया दावेदार पनि हुन् बानियाँ । उनी आफ्नो चुनावी अभियानमा जिल्लाकै विकट मानिएका गाउँ बस्तीमा पुगेर चुनावीप्रचार प्रसार गरिरहेका छन् ।

कठ्याङ्ग्रिदो जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस् बानियाँ सबैका खाना र नानासँग जोडिने गरेका छन् ।‘भुइँमान्छे’ को सेवामा समर्पित बानियाँले यसअघि खाना र नानासँग जोडिएर धेरै महत्वपूर्ण कामहरु गरेका छन् । खाद्यान्न, लत्ता कपडाका साथै अन्य आधारभूत आवश्यकता पूरा गर्न बानियाँले नगद पनि सहयोग गर्ने गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति भएपछि प्रदेश समितिमार्फत बानियाँले मकवानपुर, धादिङ र चितवनका चेपाङ, दलित तथा विपन्न समुदायका एक हजार तीन सय परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेका थिए ।जसमध्ये गत वर्षको जाडोयाममा मकवानपुरको विकट राक्सिराङ र मनहरीका मात्रै ६ सय १० परिवारले बानियाँमार्फत न्यानो कपडा सहयोग पाएका थिए ।

गत वर्षको भदौ महिनामा बानियाँले मकवानपुरको मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाका गरिब, विपन्न, तामाङ तथा लोपोन्मुख वनकरिया गरी ५ सय परिवारलाई दाल, चामल, चिनी, नूनलगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए ।‘विपन्नताका कारण गाँस र कपासको समस्या हुने हरेक नागरिकलाई मेरो क्षमताले भ्याएसम्म हिजोका दिनमा सहयोग गरेँ, अबको दिनमा पनि निरन्तर गर्ने छु । म गरिब र निमुखाको सेवा गर्नकै लागि राजनीतिमा आएको हुँ ।’

नेता बानियाँ भन्छन्–‘अरु पार्टीले आफूहरु गरिबको पार्टी भन्छन् तर कांग्रेस चाहिँ गरिबलाई आवश्यक सहयोग र वातावरण दिई धनी बनाउने पार्टी हो ।’ बानियाँले आफू प्रदेश सभा सांसद भइरहँदा पाउने तलबी सुविधा पनि सधै जनताकै काममा लगाए ।

कोरोना महामारी चरम अवस्थामा पुगेको बेला जनताको जीवनरक्षाको लागि सरकारलाई पनि चर्को दबाब दिएका बानियाँले आफ्नो तलव बापत प्राप्त भएको रकमबाट २०७६ चैतमा राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख र मनहरी गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख रुपैयाँ सहयोग गरे । सडक मानवको उद्धार गरी भरणपोषण गरिरहेको मानव सेवा आश्रमलाई पनि बानियाँले २०७८ असोजमा एक लाख रुपैयाँ दान दिए ।

कोरोना महामारीबाट विश्व नै आतंकित भइरहेका बेला पनि बानियाँमा भने जनताकै सेवा भाव जागिरह्यो । कोरोनाका कारण भएको लकडाउनका कारण ज्याला गर्न नपाई भोकभोकै घरभित्रै थुनिएकाहरुको ढोका–ढोकामा बानियाँ हाजिर भए ।

चामल, दाल, तेल, नून, तरकारीलगायतका महिनौ चुलो बाल्न पुग्ने खाद्यान्न बोकेर उनी जनताको भोक मेट्न पुगे । कोरोना महामारीको समयमा २०७८ जेठ महिनामा विपन्न तथा भोकमरीमा परेका परिवारलाई खाद्यान्न वितरणमा मात्रै उनले २० लाख रुपैयाँ खर्चिए ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ७ र ९ नम्बरका एक हजार परिवार चेपाङ तथा विपन्न तामाङ समुदायलाई चामल, दाल, तेल, नून लगायतका खाद्यान्न सामग्री सहयोग गरेका थिए ।२०७८ असार महिनामा पनि बानियाँले व्यक्तिगत खर्चमा हेटौंडा–१४ र १५ नम्बर वडामा ६ सय ८० परिवारलाई प्रति परिवार एक एक बोरा चामल, तेल, नून, दाल, मस्यौरालगायतका खाद्यान्न सहयोग उपलब्ध गराएका थिए ।

कोरोनाकै समय २०७८ जेठमै हेटौंडा–१३ र १८ का विपन्नका घरमा पनि बानियाँ खाद्यान्न बोकेर पुगे । दुइ वडामा उनले एक सय ६० परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बानियाँको नजर विपन्नको घरमा मात्रै छैन । विभिन्न कारण जेलमा पुगेका आफ्ना क्षेत्रका नागरिकलाई चाडपर्व मनाउनको लागि कारागारसम्मै पनि पुग्ने गरेका छन् ।

दशैंको बेला बानियाँ ६० हजार नगदसहित दशैं मनाउन खसी नै बोकेर भीमफेदी कारागारका कैदीबन्दीलाई भेट्न पुगेका थिए । बानियाँ प्रदेश सभापति भइसकेपछि सिन्धुलीमा हात्ती पीडित १ सय ४० परिवारलाई नगद पाँच हजार रुपैयाँसहित खाद्यान्न सहयोग पनि गरेका थिए ।

मकवानपुरे नेता बानियाँ हरेक दिनजसो विपन्न, गरिब र असहायहरुसँग भेटघाट गर्छन् । उनीहरुको समस्या सुन्छन् र समाधानको पहल गर्ने गर्दछन् । त्यसैले पनि उनलाई गाउँ-गाउँका निम्न वर्गका नागरिकले नजिकका नेता सम्झिन्छन् ।

बलियो दावेदार

यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ यस क्षेत्रका बलिया उम्मेदवार हुन् जिल्लाकै निकै विकट मानिने क्षेत्र कैलाश, राक्सिरांगलगायत इन्द्रसरोबर र मनहरी गाउँपालिकाका वडाहरु यस क्षेत्रमा पर्छन् ।

यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट लालबहादुर थापा उम्मेदवार छन् अन्य साना दलका पनि उम्मेदवार रहे पनि यहाँ एमाले र गठबन्धनको प्रतिष्पर्धा हुने गर्छ । तर यसपालि एमालेले नयाँ अनुहारलाई यस क्षेत्रमा उठाएको छ । अर्कोतर्फ ५ दलीय गठबन्धन नै यसपालि बानियाँको पक्षमा छन् । यसले गर्दा पनि उनि यस क्षेत्रका बलिया उम्मेदवार हुन् भन्न सकिने अवस्था छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका पूर्व नेता एवं  पूर्व गृह राज्यमन्त्रीकोसमेत जिम्मेवारी सम्हालिसकेका बानियाँ हाल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधै जनमुखी काम गरेको भन्दै बानियाँ आफूलाई जनताले निर्वाचित गराउनेमा विश्वस्त रहेका छन् ।

लालकिल्ला भत्काउन बानियाँको लगानी

मकवानपुर कम्युनिष्टको लाल किल्लाको रुपमा चिनिन्छ । तर पहिलेदेखि २०७९को स्थानीय निर्वाचनसम्म आइपुग्दा इन्द्र बानियाँले जिल्लामा कांग्रेसलाई एक नम्बर पार्टी बनाएका छन् । बहुदलपछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचनसँगै मकवानपुरमा आफ्नो स्थान लिन शुरु गरेको कांग्रेस, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रूपमा उदाएको छ ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन ४३ गाविसमध्ये १० गाविस जितेको थियो । त्यस्तै २०५४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले एउटा मात्र गाविसमा जित्यो । २०५४ सालमा मकवानपुरमा कमल थापाको आगमनसँगै कांग्रेस थप कमजोर बन्न पुग्यो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरको चार वटै निर्वाचन क्षेत्र माओवादी केन्द्रको कब्जामा गएको थियो ।

उता एमालेले २०४९ सालदेखि मकवानपुरमा पहिलो शक्तिको रूपमा शासन गर्न शुरु गरिसकेको थियो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन मकवानपुर-१ बाट हालका कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भए । उनको जितसँगै मकवानपुरमा कांग्रेसको संरचना बिस्तारै बलियो बन्दै गयो ।

त्यसपछि जिल्लाका सबै स्थानमा कांग्रेसले आफ्नो शक्ति बढाउँदै गयो । अहिले २०७९ को स्थानीय निर्वाचनसम्म आइपुग्दा जिल्लामा नेपाली कांग्रेस पहिलो पार्टीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।जिल्लामात्र हैन एकल रुपमा होस् या गठबन्धन र दलका नेता तथा कार्यकर्ता, जनतालाई रिझाएर होस् बागमती प्रदेशमै बानियाँले कांग्रेसलाई बलियो बनाउँदै लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1