पञ्चायती व्यवस्थामा भन्दा अहिले बढी दमन हुन थाल्यो: ओली

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS
Screenshot

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको पक्षमा आवाज उठाउँदा वर्तमान सरकारले पञ्चायती व्यवस्थामा भन्दा बढी दमन गर्न थालेको आरोप लगाएका छन्।

निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव लिन सोमबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले अहिलेको समाजलाई आस्थाहीन, मर्यादाहीन र संस्कारहीन बनाउँदै देशमा आतङ्कको राज सिर्जना भइरहेको दाबी गरे।

‘गत फागुन २१ गतेको निर्वाचनबाट देशलाई फाँसिवादतिर लैजाने लाइसेन्स उपलब्ध भएको छ,’ उनले भने, ‘देशको पक्षमा बोल्दा पञ्चायतमा भन्दा बढी दमन भोग्नुपर्ने स्थिति छ, तर फाँसिवादले लामो समय राज गर्न सक्दैन। यो प्रकृति र समाज विकासकै नियम हो।’

एमालेलाई नसिध्याएसम्म देशलाई कमजोर बनाउन सकिन्न भन्ने ठानेर विश्वभरका प्रतिक्रियावादीहरू लागेका कारण पार्टीले निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको उनको जिकिर थियो।

अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको स्मरण गर्दै आफ्नो पार्टीको आलोचना गर्ने कुनै ठाउँ नरहेको बताए।

एकपटक एउटा मोर्चामा पराजय व्यहोर्नु परे पनि फेरि जित्ने विश्वास व्यक्त गर्दै उनले पार्टीपङ्तीलाई निराश नहुन आग्रह गरे।

‘एउटा मोर्चामा पराजित हुँदैमा निराश हुनु पर्दैन। एमालेसँग सही नीति, विचार र गन्तव्य छ,’ ओलीले भने, ‘हामीविरुद्ध चौतर्फी हमला भइरहेको छ, यस्तो बेला उच्च मनोबलका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।’

अध्यक्ष ओलीले पार्टी र आन्दोलनलाई विनाशको बाटोमा जान नदिन आफ्नो तर्फबाट पूर्ण प्रयास हुने प्रतिबद्धता समेत व्यक्त गरे। अहिले साना देशहरूलाई नियन्त्रणमा लिने विश्वव्यापी ट्रेण्ड चलेको उल्लेख गर्दै उनले अन्ततः विश्व न्याय, शान्ति र जनताकै पक्षमा उभिने विश्वास व्यक्त गरे।

सिङ्गो पार्टीपङ्तीले जिम्मेवारीबोधका साथ प्रतिकुल परिस्थितिको सामना गर्नुपर्नेमा उनले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित