सिरहा, गोलबजार ।
हरियो पाटी अनलाइन मा “गोलबजारमा अवैध ग्राभेल उत्खनन: जनप्रतिनिधि र कर्मचारीकै मिलेमतो” शीर्षकको समाचार प्रकाशित भएपछि सम्बन्धित निकाय सक्रिय देखिएका छन्। समाचार सार्वजनिक भएसँगै नगर प्रहरी र प्रहरी प्रशासनले संयुक्त रूपमा अनुगमन तथा कारबाही अघि बढाएका हुन्।
गोलबजार नगरपालिका–२ गुरुधामस्थित गागन खोलाबाट अवैध रूपमा ढुंगा, बालुवा तथा ग्राभेल उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले दुई वटा जेसिवी र एक टिपर नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले गोप्य सूचनाका आधारमा घटनास्थल पुगेर मधेश प्रदेश–०३–००१ ख ७८४९ नम्बरको टिपर तथा नम्बर नभएका दुई जेसिवी नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक सुदन केसीका अनुसार नियन्त्रणमा लिएका सवारीसाधनबारे आवश्यक कारबाहीका लागि गोलबजार नगरपालिकालाई पत्राचार गरिएको थियो।
नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोका अनुसार जरिवाना तिरेपछि टिपर र एक जेसिवी सवारीधनीले लगिसकेका छन् भने अर्को जेसिवी अझै प्रहरी नियन्त्रणमै रहेको छ।


















Discussion about this post