गोलबजारमा अवैध ग्राभेल उत्खनन: जनप्रतिनिधि र कर्मचारीकै मिलेमतो

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

सिरहा। सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा व्यापक रूपमा अवैध ग्राभेल उत्खनन भइरहेको तथ्य बाहिर आएको छ। केही ग्राभेल माफियाले नगरपालिकाका केही कर्मचारी तथा सम्बन्धि वडाका जनप्रतिनिधिसँग मिलेमतो गरी जथाभावी उत्खनन गरिरहेको स्थानीय महिन्द्र महतोले बताए ।

स्थानीयवासीका अनुसार गोलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ का विभिन्न स्थानमा अवैध रूपमा ग्राभेल र माटो उत्खनन गरी ठूलो परिमाणमा स्टक राखिएको छ। विशेषगरी गागन नदी किनारका विभिन्न ठाउँमा मेसिन प्रयोग गरी ग्राभेल उत्खनन गरेर थुपारिएको देखिएको छ।

उनीहरूका अनुसार नगरपालिकालाई जानकारी नदिई प्रायः रातिको समयमा तथा बिहान सबेरै उत्खनन गरिँदै आएको छ। यसरी भइरहेको अवैध उत्खननले एकातर्फ राज्यको राजस्वमा ठूलो क्षति पुर्‍याएको छ भने अर्कोतर्फ नदीको प्राकृतिक संरचनामा गम्भीर असर पार्ने र वातावरणीय जोखिम बढाउने खतरा बढेको स्थानीयको भनाइ छ।

नेपालको खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदी, खोलानाला वा अन्य स्थानबाट ढुंगा, गिटी, बालुवा, ग्राभेल जस्ता प्राकृतिक स्रोत उत्खनन गर्न सम्बन्धित स्थानीय तहबाट अनुमति लिन अनिवार्य हुन्छ। अनुमति बिना गरिने उत्खनन स्पष्ट रूपमा कानुनविपरीत मानिन्छ।

त्यसैगरी वातावरण संरक्षण ऐन, २०७६ ले वातावरणमा असर पर्ने गरी अनियन्त्रित उत्खनन गर्न रोक लगाएको छ। उक्त ऐनअनुसार अवैध उत्खननमा संलग्न व्यक्ति वा संस्थामाथि जरिवाना तथा अन्य कानुनी कारबाही गर्न सकिने व्यवस्था छ।

यस विषयमा गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख राम वृक्ष महतोले हालसम्म उक्त उत्खनन कसले गरिरहेको हो भन्नेबारे नगरपालिकासँग स्पष्ट जानकारी नभएको बताएका छन्। उनले नगरपालिकाबाट कसैलाई पनि ग्राभेल उत्खननका लागि अनुमति नदिएको दाबी गरे।

तर स्थानीयले भने कर्मचारी र केही जनप्रतिनिधिको मौन समर्थनबिनै यस्तो गतिविधि सम्भव नहुने दाबी गर्दै तत्काल  अवैध उत्खनन तुरुन्त रोक्न, स्टक गरिएको ग्राभेल जफत गर्न र दोषीमाथि कानुनी कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन्।

स्थानीयका अनुसार यदि समयमै नियन्त्रण नगरिए गोलबजार क्षेत्रका नदी किनारको संरचना बिग्रने, बाढीको जोखिम बढ्ने तथा वातावरणीय क्षति झनै गम्भीर बन्ने खतरा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित