सिरहामा रवि आउँदा देखिएनन् समर्थक, निराश भए कार्यकर्ता

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा । राष्ट्रिय राजनीतिमा आफ्नो आक्रामक प्रस्तुति र भीड तान्ने क्षमताका कारण चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सिरहा भ्रमणमा यसपटक अपेक्षित उत्साह देखिएन ।

निर्वाचन लक्षित कार्यक्रमका लागि बुधबार लहान हुँदै गोलबजार आइपुगेका लामिछानेको स्वागतमा पार्टीका सिमित नेता–कार्यकर्ता सक्रिय देखिए पनि सर्वसाधारणको सहभागिता भने निकै न्यून देखिएको हो ।

स्थानीयका अनुसार, गत माघ २७ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह गोलबजार आउँदाको तुलनामा आजको उपस्थिति निकै कम थियो । बालेन आउँदा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड पूर्व–पश्चिम राजमार्ग नै केही समय ठप्प भएको थियो भने सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । तर, सभापति लामिछानेको कार्यक्रममा सय जनाको हाराहारीमा मात्रै कार्यकर्ताहरू उपस्थित भए ।

स्थानीयले सभापति लामिछानेको कार्यक्रममा उत्साह कम हुनुको मुख्य कारण उनीमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपलाई मानेका छन् । स्थानीय बद्री महतो भन्छन्, ‘रविजी दोषी हो कि होइन भन्ने कानुनी फैसला आउन बाँकी होला, तर उनी अदालत धाइरहेको र विभिन्न ठाउँबाट धरौटीमा रिहा भएको खबरले जनतामा शंका पैदा गरेको छ ।’

अर्का स्थानीय अशेश्वर यादवले रवि र बालेनबीचको तुलना गर्दै भने, ‘बालेन निस्वार्थ भावले देश बनाउन हिँडेको जस्तो देखिन्छ, तर रविजी सहकारी प्रकरणमा मुछिएको खबरले गर्दा मानिसहरूमा पहिलेको जस्तो आकर्षण देखिएन ।’

आफ्ना शीर्ष नेता आउँदा समेत सर्वसाधारणको उपस्थिति पातलो देखिएपछि रास्वपाका स्थानीय समर्थकहरूमा केही निराशा छाएको छ । यद्यपि, पार्टीका केही कार्यकर्ताले भने समय अभाव र छोटो तयारीका कारण अपेक्षा अनुसारको भीड जुटाउन नसकिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित