काठमाडौँ । नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन सुरु भएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित ११औँ महाधिवेशनको उद्घाटन गरेको एमाले आइतबारदेखि नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्दैछ ।
आइतबार बिहान साढे ७ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुने बन्दसत्रले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
साढे ६ लाख पार्टी सदस्यमध्ये देशभरबाट छानिएका २२ सय ६२ जना एमाले प्रतिनिधिले अध्यक्ष एक, महासचिव एक, ३ उपाध्यक्ष, ३ उपमहासचिव र ७ जना सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्नेछन् ।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी रहेको अध्यक्ष मण्डलमा रूपान्तरण भैसकेको छ । त्यस्तै महाधिवेशनको प्रस्ताव लेखन र माइन्युट लेखन समिति पनि गठन भएको छ । जसको जिम्मा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी समेत एमालेले गरेको छ । त्यसको परीक्षण शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा गरिएको थियो ।
- अध्यक्षमा ओली र पोखरेलबिच प्रतिस्पर्धा
एमालेको अध्यक्षमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै नेताले अध्यक्षमा आकाङ्क्षा राख्दै उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् । पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ र समर्थन रहने देखिएको छ । कतिपय नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास समेत भइरहेको बताएपनि त्यो सम्भावना अत्यन्त क्षीण बनेको एमाले नेताहरू बताउँछन् । सहमति नजुटेको खण्डमा दुवै पक्ष प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।
उद्घाटनसत्र सकिएलगत्तै ओली समूहका नेताहरू अध्यक्ष ओलीको अस्थायी निवास गुण्डुमा पुगेका छन् भने पोखरेल समूहका नेताहरू अलग्गै छलफलमा जुटेका छन् ।
अध्यक्षसहित पदाधिकारीमा निर्वाचन नै हुने सम्भावना बढेपछि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीमा ओली पोखरेल दुवै पक्ष प्यानल बनाउने गृहकार्यमा जुटेको दुवै पक्षका नेताहरू बताउँछन् ।
ओली पक्षबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा तीन-तीन जना नेताहरूले आकाङ्क्षा देखाएका छन् । हालका महसचिव शंकर पोखरेल र उपमहासचिवद्धय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले महासचिवमा दाबी गर्दै आएका छन् । तीमध्ये कसलाई महासचिवका रुपमा ओलीले अघि सार्छन् भनेर अहिलेसम्म केही कुनै आँकलन हुन सकेको छैन । उता ईश्वर पोखरेल समूहले ओली पक्षले अघि सार्ने उम्मेदवार हेरेर आफ्नो तर्फबाट महासचिवको उम्मेदवार सार्वजनिक गर्ने बताउँदै आएको छ । पोखरेल समूहबाट पनि महासचिवमा तीन जना नेताले आकाङ्क्षा देखाएका छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना महासचिवको उम्मेदवार बन्ने यो समूहका नेताहरूको भनाइ छ ।
पाण्डे महासचिवका उम्मेदवार बने विष्ट र भट्टराई उपमहसचिवको उम्मेदवार बनाउने पोखरेल समूहको तयारी छ । त्यस्तै उपाध्यक्ष र सचिवमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन् । पदाधिकारीमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । सचिव पदमा नयाँ अनुहार ल्याउन दुवै समूह तयार देखिए पनि सीमित पदका कारण सकस परिरहेको बताइएको छ ।
- नेताहरूको जोड : एकता र सहकार्य
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनेजीका नाममा भदौ २४ पछि मुलुकमा प्रतिगामी तत्त्वहरूले असंवैधानिक ढङ्गले सरकार बनाएको तथा प्रतिनिधि सभा विघटन गरेको भन्दै निकासका लागि संसद् पुनर्स्थापना उपयुक्त विकल्प भएको बताए । साथै उनले चुनावको जिम्मेवारी पाएको सुशीला कार्की नेतृत्वको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारको राजनीतिक दल विरोधी षड्यन्त्र गरेको बताए । उनले नेताको राहदानी रोक्का र स्थान हद तोकेर चुनावको वातावरण नबन्ने र चुनाव पनि नहुने बताए । साथै उनले चुनावबाट एमाले नभाग्ने जिकिर गरे ।
‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट भाग्छ भन्ने नसोचे हुन्छ’, ओलीको भनाइ छ । महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा, लोसपालगायतका नेताहरूले मुलुक सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेकाले पार्टीहरूबिच एकता र सहकार्य अनिवार्य भएको बताए । सभालाई सम्बोधन गर्दै कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक लिकमा फर्काउन एमाले कांग्रेसको सहकार्य आवश्यक रहेको बताए ।
‘पार्टी फुट्दा र जुट्दाको अनुभूत हामीले भोगेका छौँ, त्यो हामीले पनि भोगेका छौँ, एमालेले पनि भोगेको छ, अरू दलहरूले पनि भोगेका छन्, साना मनमुटाबका कारण पार्टीमा कुनै समस्या नआओस् भन्ने सबै नेता कार्यकर्तामा आग्रह गर्न चाहन्छु’ खड्काले सङ्कटका बेला दुई ठुला दल मिल्नुको विकल्प नभएको बताए । साथै उनले शुभकामना दिँदै भने, ‘महाधिवेशनमा पार्टी नेतृत्वको विषय उठ्ने भएकाले एमाले त्यसमा सचेत होस्, सङ्कटमा सबै नेताहरूले यसमा ध्यान पुराओस् । सकेसम्म सहमतिमा नेतृत्व छानोस् नभए मैत्रीपूर्ण प्रतिस्पर्धा होस् ।’ त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीबिचको एकता र सहकार्यमार्फत नै देशलाई निकास दिन सकिने भन्दै एकता र सहकार्यमा जोड दिए ।
त्यस्तै नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले भदौ २३ र २४ को विध्वंसपछि एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जटिल प्रश्न बने पनि एमालेले त्यो जवाफ आजको सभामार्फत दिएको बताए । साथै उनले दलहरूले देश सम्हाल्न सक्छन् भन्ने सन्देश एमालेले सभामार्फत दिएको विप्लवले बताए । ‘धेरैले प्रश्न उठाएका थिए कम्युनिस्टहरू अब देशमा सकिए, अब दलहरूले पार लगाउन सक्दैनन्, नेतृत्व गर्न सक्दैनन् भन्ने तर आजको यो विशाल सहभागिताले त्यो जवाफ दिएको छ, यो स्वदेशीलाई मात्रै होइन संसारभरलाई ठुलो सन्देश दिएको छ’, विप्लवको भनाइ छ ।
एमालेको देशभक्तिपूर्ण कदमको चर्चा गरेका विप्लवले अहिलेको सरकारलाई अवैधानिक भन्दै अब सर्वपक्षीय सरकार बनाएर चुनावमा जानुपर्ने धारणा राखे । कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका सुरेन्द्र झालगायतले एमाले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।


















Discussion about this post