गोलबजार, सिरहा –सिरहाको गोलबजार नगरपालिका-४ मा एक किशोरीले २५ वर्षीय युवकमाथि छुरा प्रहार गरेकी छिन्। घाइते युवक दुर्गापुर घर भई हाल गोलबजार नगरपालिका–४ मा बस्दै आएका अशोक कुमार महतो रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महतो नेपाल टेलिकम जाने बाटो नजिकै रहेको स्थानमा बस्दै आएका थिए। केही दिनदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनलाई एक किशोरीले छुरा प्रहार गरेको हो।
किशोरीले किन छुरा प्रहार गरिन् भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। यद्यपि प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ।
छुरा प्रहारपछि स्थानीय महिलाहरूले आक्रोशित हुँदै किशोरीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी किशोरीलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















Discussion about this post