काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।
महासंघले सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि आन्दोलनको कारण बनाएको छ ।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ ।
त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)सँग छलफल गरिनेछ भने मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् ।
आन्दोलनको सबैभन्दा ध्यानाकर्षण गराउने कार्यक्रम भने मंसिर ९ गते तय गरिएको छ । उक्त दिन महासंघका जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गरिनेछ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार अनुदार देखिएको आरोप लगाउँदै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

.gif)




















Discussion about this post