गोलबजार वडा अध्यक्ष कपको उपाधि वडा नं. ४ लाई, वडा नं. २ उपविजेतामा सीमित

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा-  गोलबजार नगरपालिकामा आयोजित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. ४ ले जितेको छ। वडा नं. २ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ४ ले उपाधिमाथि कब्जा जमाएको हो।

गोलबजार नगरपालिका–७ मा रहेको मैनाबती खोलास्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं. ४ ले सुरुदेखि नै प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै जित निकालेको हो। खेलको पहिलो हाफमा शत्रुधन मुखियाले गोल गर्दै वडा नं. ४ लाई अग्रता दिलाएका थिए। त्यसपछि जर्सी नम्बर १३ का आयुष राईले दोस्रो गोल थप्दै टोलीको जितको आधार बलियो बनाए।

खेलको दोस्रो हाफको अन्तिम समयमा वडा नं. २ का जर्सी नम्बर १० का अमन लामाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। निर्धारित खेलमा थप गोल हुन नसकेपछि वडा नं. ४ ले २–१ को जितसहित उपाधि उचाल्यो।

फाइनल खेलमा निर्णायक प्रदर्शन गरेका वडा नं. ४ का आयुष राई ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का अमन लामाले ‘प्लेयर अफ द सिरिज’ को उपाधि पाए।

खेलका सहयोगी स्थानीय युवा रामदुलार यादवका अनुसार प्रतियोगितामा नगरका १३ वडामध्ये १० वडाका टोली सहभागी भएका थिए।

उपाधि विजेता वडा नं. ४ ले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. २ ले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।
विजेता टोलीलाई जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप लामाले प्रथम पुरस्कार प्रदान गरेका थिए। उपविजेता टोलीलाई गोलबजार नगरपालिका–७ का वडाध्यक्ष हरिशरण ठाकुरले दोस्रो पुरस्कार वितरण गरे। अन्य पुरस्कार वडा सदस्यहरू दीपेन्द्र सिंह (दीपा) र प्रभा कुमारी सिंहले प्रदान गरेका थिए।

स्थानीय स्तरमा फुटबल खेलको विकास, युवाको खेलकुदप्रतिको आकर्षण वृद्धि र वडाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगिता मैनाबती खोलास्थित खेलमैदानमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित