काठमाडौं । अन्तिम ओभरसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा ओमानलाई १० रनले पराजित गर्दै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ।
सोमबार अल अमेरत क्रिकेट ग्राउन्ड टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो। यससँगै शीर्ष ६ मा रहन नेपालले जित्नैपर्ने दबाबको खेलमा महत्त्वपूर्ण सफलता हात पारेको छ।
रोहित, दीपेन्द्र र देवको अर्धशतक
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय इनिङ्स खेले।
रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन जोडे। ओपनर देवले ६५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए।
नेपालले ९९ रनमा तीन विकेट गुमाइसकेको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाए पनि त्यसपछि नेपाली ब्याटिङ क्रम लगातार धराशायी भयो।
नेपाल २३८ रनमा तीन विकेटको स्थितिबाट २८० रनमा अलआउट भएको थियो। अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोड्दै टोलीको स्कोर बढाए। ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेराले तीन र समय श्रीवास्तवले दुई विकेट लिए।
ओमानको बलियो साझेदारी, नेपालको उत्कृष्ट पुनरागमन
२८१ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ३२ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि जतिन्दर सिंह र हम्माद मिर्जाले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गर्दै ओमानलाई जिततर्फ अघि बढाएका थिए।
जतिन्दरले ८९ र हम्मादले ८७ रन बनाए। उनीहरूको साझेदारीपछि ओमान बलियो अवस्थामा पुगे पनि नेपालले लगातार विकेट निकाल्दै खेलमा पुनरागमन गर्यो।
१९० रनमा दोस्रो विकेट लिएको नेपालले त्यसपछि १३ रनको अन्तरमा अर्को विकेट पनि हात पार्यो। ओमानको स्कोर २०३–३, २०६–४ हुँदै कप्तान विनायक शुक्ला आउट हुँदा २२४–५ पुगेको थियो। सन्जु सजिव रनआउट भएपछि ओमान २३२–६ को अवस्थामा पुग्यो।
त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानको आशा जीवित राखे। उनले २३ बलमा अविजित ४० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
अन्तिम ओभरमा दीपेन्द्रको निर्णायक बलिङ
खेलको निर्णायक क्षण अन्तिम ओभरमा आयो। ओमानलाई जितका लागि २३ रन आवश्यक हुँदा नेपालका दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए।
पहिलो बलमा हस्नैनले दुई रन लिए । त्यसपछि लगातार दुई चौका प्रहार गरेपछि ओमानलाई तीन बलमा १३ रन आवश्यक भयो। चौथो बलमा दुई रन जोडिएपछि अन्तिम दुई बलमा ११ रन चाहिएको थियो।
तर दीपेन्द्रले पाँचौं बलमा कुनै रन दिएनन्। अन्तिम बलमा पनि हस्नैनले रन जोड्न सकेनन्। यससँगै नेपालले खेल १० रनले जित्दै लिग–२ को अंकतालिकामा छैटौं स्थान सुरक्षित गर्यो।
जितसँगै नेपाल छैटौं स्थानमा
लिग–२ को शीर्ष ६ मा रहन नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि अंकतालिकामा सातौं स्थानमा झरेको थियो।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलबाट २९ अंकसहित छैटौं स्थानमा उक्लिएको थियो भने ३५ खेलबाट २८ अंक जोडेको नेपाल सातौं स्थानमा पुगेको थियो।
ओमानविरुद्धको जितपछि नेपालले ३६ खेलबाट ३० अंक पुर्याउँदै छैटौं स्थानमा पुनरागमन गरेको छ। लिग–२ को शीर्ष ६ मा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने अवसर उच्च रहेकाले नेपालको यो जित महत्त्वपूर्ण बनेको छ


















Discussion about this post