१८ असोज, सिरहा ।
सिरहामा पछिल्ला दिनमा सशस्त्र प्रहरीले छुट्टाछुट्टै तीन घटनामा गरी १ हजार २ सय २५ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। ती घटनामा चार जना पक्राउ परेका छन् भने गाँजा बोकेको बोलेरो र मोटरसाइकलसहित चालक फरार भएका छन्।
सशस्त्र प्रहरीका अनुसार लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको बलान खोला क्षेत्रमा सवारीसाधन चेक जाँच गर्ने क्रममा १२ किलो गाँजासहित लहान नगरपालिका–११ पडहरियाका अन्दाजी २४ वर्षीय अजय सदाय पक्राउ परेका छन्। उनले बोकेको झोला जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सिरहाको औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको ६ बोराको गाँजा बरामद गरिएको हो। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।
यसैबीच, सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरेको छ। बिहीबार राति करिब १ बजे सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले गाँजा बोकेको बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त गाँजा २६ वटा बोरामा प्याक गरिएको थियो। सुरक्षा टोली पुगेपछि बोलेरो र मोटरसाइकल छाडेर चालक फरार भएका थिए। बरामद गाँजा, सवारीसाधन तथा अन्य सामान आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सिरहामा बुझाएको छ ।
तीनवटै घटनामा बरामद गाँजाको परिमाण जोड्दा १ हजार २ सय २५ किलो ४१५ ग्राम पुग्छ। सशस्त्र प्रहरीले सिरहामा सीमा तथा राजमार्ग क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।
तस्करहरूले उदयपुर र सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध गाँजा खरिद गरी सिराहाका बलान, कमला, गागन र घुर्मीलगायत नदी तथा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ।


















Discussion about this post