सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिरहा क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन प्रक्रिया सर्वसम्मत रूपमा टुंगिएको छ।
क्षेत्रीय सभापति धनेश्वर यादव सर्वसम्मत निर्वाचित भएपछि क्षेत्रका विभिन्न पद, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयनका लागि सर्वसम्मतिको प्रयास गरिएको थियो।
सर्वसम्मतिका लागि विभिन्न पदमा ८० जनाको नाम प्रस्ताव गरिएको थियो। तर, सबै पदमा तत्काल सहमति जुट्न नसकेपछि निर्वाचन समितिले राति ८ बजेदेखि ९ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरेको थियो। उक्त अवधिमा विभिन्न पदमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
तर, उम्मेदवारहरूबीच नै सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा आएपछि उम्मेदवारी दिएका सबैले आफ्नो उम्मेदवारी फिर्ता लिए। त्यसपछि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका लागि ३९ जनाको नाम प्रस्ताव गरिएको क्षेत्रीय सभापति यादवले बताए।
प्रस्तावित नाममध्ये निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी ३५ जनालाई महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा सर्वसम्मत चयन गरेको यादवले जानकारी दिए।
यादवले चयन प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात वा भेदभाव नभएको दाबी गरे। व्यक्तिगत वा पारिवारिक व्यक्तिलाई समेत समेट्नुपर्ने अपेक्षा राख्ने केही व्यक्तिले मात्र पक्षपातको आरोप लगाएको उनको भनाइ छ।
उनले क्षेत्र नं. ४ को अधिवेशन निष्पक्ष र सहमतिमूलक ढंगले सम्पन्न भएको दाबी गर्दै पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहेका नेता–कार्यकर्ता तथा युवालाई प्राथमिकता दिइएको बताए।
यादवका अनुसार २२ देखि ३५ वर्ष उमेर समूहका युवालाई समेत महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा समेटिएको छ। पार्टी संगठनमा सक्रिय व्यक्तिलाई अवसर दिँदै नेतृत्वमा युवा सहभागिता बढाउने उद्देश्यले चयन प्रक्रिया अघि बढाइएको उनले बताए।


















Discussion about this post