साउन १४ को घटनामा पक्राउविरुद्ध चोहर्वामा सडक जाम

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

सिरहा, १३ असोज । सिरहा गत साउन १४ गते गोलबजारमा भएको घटनालाई लिएर प्रहरीले स्थानीयलाई पक्राउ गरी मुद्दा चलाएको विरोधमा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वा चोकमा सडक अवरुद्ध गरेका छन्।

साउन १४ गतेको घटनामा बिनाकारण पक्राउ गरिएका व्यक्तिलाई बिनासर्त रिहा गर्नुपर्ने तथा निर्दोषमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै स्थानीयले मंगलबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन्।

स्थानीयका अनुसार घटनामा संलग्न नभएका व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरी विभिन्न मुद्दा लगाएको भन्दै उनीहरूले विरोध गरेका हुन्। पक्राउ परेकाहरूको भूमिका निष्पक्ष रूपमा छानबिन नगरी मुद्दा चलाइएको भन्दै तत्काल उनीहरूलाई रिहा गर्नुपर्ने उनीहरूको माग छ।

गत साउन १४ गते सुनसरीमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन भएपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। गोली लागेर औरही गाउँपालिका–२ तुलसीयाहीका गणेश यादवको मृत्यु भएको थियो।

घटनापछि गोलबजार क्षेत्रमा तोडफोड तथा आगजनीसमेत भएको थियो। प्रहरीको विवरणअनुसार घटनाका क्रममा गोलबजार क्षेत्रमा ६४ वटा संरचना तथा अन्य सम्पत्तिमा क्षति पुगेको र करिब ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो।

घटनापछि प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञासमेत जारी गरेको थियो। घटनामा भएको मानवीय तथा भौतिक क्षतिको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि सम्बन्धित पक्षबाट व्यक्त भएको थियो।

तर, घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएका व्यक्तिहरूमाथि लगाइएको मुद्दालाई लिएर अहिले स्थानीय असन्तुष्ट बनेका छन्। उनीहरूले ‘निर्दोषलाई पक्राउ गर्न पाइँदैन, बिना कारण लगाइएको मुद्दा फिर्ता गर, पक्राउ परेकालाई बिनासर्त रिहा गर’ भन्दै सडकमा सोमबार बिहान  प्रदर्शन गरेका छन्।

सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम लोकमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। चोहर्वा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीयले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित