काठमाडौं – बलिउडका चर्चित चरित्र अभिनेता मुस्ताक खानको क्यान्सरका कारण बिहीबार साँझ निधन भएको छ ।
पेट दुखेपछि अस्पताल लगिएका मुस्ताकको स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो ।
चार दशकभन्दा बढी समय बलिउडमा बिताएका खानले ‘आशिकी’, ‘हेरा फेरी’, ‘गदर’, ‘वेलकम’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए ।
काठमाडौँ । हिन्दी चलचित्रमा आफ्ना स्मरणीय चरित्र तथा हास्य भूमिकाका लागि परिचित अभिनेता मुस्ताक खानको क्यान्सरका कारण बिहीबार साँझ निधन भएको छ ।
उनका छोरा मोहसिनले समाचार संस्था पीटीआईसँग कुरा गर्दै मुम्बईस्थित नानावती अस्पतालमा साँझ करिब ७ बजे उनको निधन भएको पुष्टि गरेका हुन् । पेट दुखेपछि अस्पताल लगिएका मुस्ताकको स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो । पछिल्ला केही दिनयता उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको थियो ।
अस्पताल भर्ना हुनुअघिसम्म उनी पूर्ण रूपमा स्वस्थ रहेको र अभिनेता सलमान खानका बडीगार्ड शेराका छोराको डेब्यु चलचित्रको छायाङ्कनमा व्यस्त रहेको छोरा मोहसिनले जानकारी दिएका छन् । अभिनेता खानको अन्तिम संस्कार शुक्रबार यारी रोडस्थित कब्रिस्तानमा गरिनेछ ।
‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लूआईसीई) का अध्यक्ष बीएन तिवारीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । त्यस्तै, चलचित्र निर्माता तथा उनका पुराना साथी अशोक पण्डितले मुस्ताकको निधनलाई फिल्म उद्योगका साथै आफ्नो व्यक्तिगत जीवनका लागि पनि अपूरणीय क्षति बताएका छन् ।
रंगमञ्चदेखि नै मुस्ताकसँग सहकार्य गरेका पण्डितले उनको कला र सरलताको स्मरण गर्दै सतिश शाह र सतिश कौशिकपछि अर्को असल मित्र गुमाउनुपरेको भन्दै भावुक अभिव्यक्ति दिएका छन् ।
सन् १९८० मा ‘अल्बर्ट पिन्टो को गुस्सा क्योँ आता है’ चलचित्रबाट अभिनय यात्रा थालेका मुस्ताक खानले बलिउडमा चार दशकभन्दा बढी समय बिताए । आफ्नो उत्कृष्ट हास्यशैली र सशक्त अभिनयका कारण उनी दर्शकमाझ निकै लोकप्रिय थिए ।
उनले ‘आशिकी’, ‘हम हैं राही प्यार के’, ‘राजा’, ‘हेरा फेरी’, ‘जोडी नम्बर १’, ‘मुझसे शादी करोगी’, ‘वान्टेड’ र ‘ओ माई गड !’ जस्ता थुप्रै सफल चलचित्रहरूमा अभिनय गरे । सन् २००१ को चर्चित चलचित्र ‘गदरः एक प्रेम कथा’ मा ‘गुल खान’को भूमिका निर्वाह गरेका उनी दुई दशकपछि सन् २०२३ मा बनेको ‘गदर २’ मा पनि देखिएका थिए ।
विशेषगरी सन् २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘वेलकम’ मा उनले निर्वाह गरेको भूमिका र ‘नक्कली खुट्टा’ सम्बन्धी हास्य संवाद दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । नाना पाटेकर, अनिल कपूर र अक्षय कुमारजस्ता दिग्गज कलाकारहरूको भीडमा पनि उनको अभिनयले छुट्टै पहिचान बनाएको थियो ।
पछिल्ला वर्षहरूमा उनले ‘स्त्री’, ‘बधाई दो’, ‘स्त्री २’, ‘वनवास’, ‘बेबी जोन’, ‘धूम धाम’ र ‘जात’ जस्ता चलचित्रहरूमा काम गरेका थिए । ठुलो पर्दाका साथै उनले ‘कुछ रंग प्यार के ऐसे भी’ जस्ता टेलिभिजन धारावाहिकहरूमा समेत आफ्नो अभिनयको छाप छोडेका छन् ।


















Discussion about this post