लहान, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सिरहाको अर्नमामा विविध कार्यक्रम गरी मनाइएको छ। ‘विविध परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ अर्नमा गाउँपालिकामा र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
अर्नमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, समग्र जनउत्थान केन्द्र, सहारा नेपाल, स्थानीय प्रहरी तथा किशोर–किशोरी क्लबको संयुक्त आयोजनामा र्याली निकालिएको थियो। अर्नमा गाउँपालिकाको कार्यालय परिसरबाट सुरु भएको र्याली अर्नमा बजार परिक्रमा गरी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो।
अन्तरक्रियाका क्रममा युवाको ऊर्जा, सिर्जनशीलता, नवीन सोच र नेतृत्व क्षमतालाई उचित अवसर, गुणस्तरीय शिक्षा, सीप विकास तथा रोजगारीसँग जोड्न सके समावेशी, समृद्ध र सुदृढ समाज निर्माण गर्न सकिनेमा जोड दिइएको थियो।
कार्यक्रममा सहभागी युवाहरूले रोजगारी तथा अवसरको खोजीमा युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्दै स्वदेशमै सम्भावना, सम्मानजनक रोजगारी र नेतृत्व विकासका अवसर सिर्जना गर्न सरोकारवालासँग आग्रह गरेका थिए। युवाको आवाज सुन्ने मात्र नभई नीति निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए।
वक्ताहरूले युवालाई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्न शिक्षा, सीप, प्रविधि, उद्यमशीलता र रोजगारीका अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताएका थिए। स्थानीय तहदेखि नीति निर्माणको तहसम्म युवाको सहभागिता बढाउन सके उनीहरूको क्षमता र ऊर्जालाई सकारात्मक रूपमा परिचालन गर्न सकिने उनीहरूको भनाइ थियो।
कार्यक्रममा अर्नमा गाउँपालिकामा क्रियाशील किशोर–किशोरी क्लबका प्रतिनिधि, गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा कर्मचारी, स्थानीय प्रहरी, समग्र जनउत्थान केन्द्रको ‘उज्ज्वल भविष्य परियोजना’का प्रतिनिधि, सहारा नेपालका प्रतिनिधि तथा स्थानीय अगुवा युवा र महिलाहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसले युवाका अधिकार, सम्भावना र नेतृत्व क्षमताका विषयमा समुदायस्तरमा बहस तथा संवादको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए।



















Discussion about this post