सिराहा, ११ वैशाख सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ।
Plan International Nepal को साझेदारीमा समग्र जन उत्थान केन्द्र द्वारा सञ्चालन गरिने उक्त परियोजना सिरहाको औरही र अर्नमा गाउँपालिकालाई लक्षित गर्दै चार वर्षसम्म सञ्चालन हुनेछ। परियोजनाको शुभारम्भ सिरहास्थित रमझम होटेलमा आयोजित एक कार्यक्रममा गरिएको हो।
परियोजनाले बालविवाह, लैङ्गिक असमानता तथा सीमित अवसरजस्ता सामाजिक समस्याहरूलाई सम्बोधन गर्दै किशोरकिशोरी तथा युवालाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।
कार्यक्रम रविशंकर पण्डित को अध्यक्षता तथा दिनेश महतो को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा समग्र जन उत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतो ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने परियोजना संयोजक पवन दासले कार्यक्रम सञ्चालन गरेका थिए।
यस अवसरमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादव लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा शान्ति उपाध्याय र प्रतिमा कुवर ले परियोजनाको उद्देश्य, कार्ययोजना, ‘परिवर्तनको सिद्धान्त’ तथा अपेक्षित उपलब्धिबारे प्रस्तुति दिएका थिए।
सहभागीहरूले बालविवाह, लैङ्गिक विभेद र अवसरको अभावका कारण युवाहरूले भोगिरहेका समस्याहरू समाधान गर्न स्थानीय तह, सरकारी निकाय र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
प्रमुख अतिथि महतोले परियोजनाले स्थानीय स्तरमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। अध्यक्ष पण्डितले किशोरी तथा युवतीहरूको क्षमता अभिवृद्धि, आर्थिक अवसर सिर्जना तथा सुरक्षित वातावरण निर्माणमा परियोजना महत्वपूर्ण हुने बताए।
कार्यक्रममा करिब ३१ जना सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘उज्ज्वल भविष्य’ परियोजनाले सिरहामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।


















Discussion about this post