सिरहा, ३ भदौ । नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा भोली बुधबार धनुषाको जनकपुरधामस्थित रोयल प्यालेसमा भव्य रूपमा हुने भएको छ। कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघका अध्यक्ष विक्रम साहले जानकारी दिएका छन्।
अधिवेशनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले गर्ने कार्यक्रम तय भएको छ। अधिवेशनमा प्रदेशभरका उद्योगी–व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारीहरू साथै पत्रकारहरूको समेत उपस्थिति रहने जनाइएको छ। यस अधिवेशनलाई इँटा उद्योगसँग सम्बन्धित विभिन्न समस्या, सम्भावना र आगामी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ।
महासंघका अध्यक्ष साहका अनुसार, व्यावसायिक क्षेत्रमा पछिल्ला दिनमा देखिएका चुनौती, सरकारी नीतिगत अस्पष्टता, कर प्रणालीका अवरोध, वातावरणीय चूनौती तथा मजदुर समस्या जस्ता विषयलाई अधिवेशनले गहिरो छलफल गर्नेछ। साथै, इँटा उद्योगलाई व्यवस्थित र आधुनिक प्रविधियुक्त बनाउँदै रोजगार सिर्जना र राजस्व वृद्धिमा अझ ठूलो योगदान पुर्याउने दिशामा योजनाहरू प्रस्तुत गरिने उनले बताए।
यस अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले मधेश प्रदेशका उद्योगी व्यवसायीहरूको चासो बढेको छ। नेतृत्व परिवर्तनसँगै महासंघले प्रदेशका उद्योगीहरूका हकहित संरक्षण, व्यावसायिक वातावरण सुधार र सरकारसँग प्रभावकारी संवाद गर्ने अपेक्षा गरिएको छ।
आयोजकले जनाएअनुसार, मधेश प्रदेशका ८ वटा जिल्लाबाट करिब दुई सय उद्योगीहरूको उपस्थिति रहनेछ। सहभागीहरूले अधिवेशनमा आफ्नो समस्या, सुझाव र समाधानका उपायहरू खुलस्त राख्ने अवसर पाउने छन्। अधिवेशनले प्रदेशभरका इँटा उद्योगलाई एकताबद्ध गर्दै आगामी वर्षहरूका लागि ठोस कार्ययोजना बनाउने विश्वास व्यक्त गरिएको छ।


















Discussion about this post