बारा, असोज ९ गते । बाराको कोल्हवी नगरपालिका–३ जुगवा टोलमा टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई बचाउने क्रममा परिवारका सदस्यसहित चार जना घाइते भएका छन् ।
स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे आफ्नै घरमा टेलिभिजन चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेको थियो । गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो । अस्पतालका चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको बारा प्रहरीले जनाएको छ ।
आकाशलाई करेन्टबाट छुट्याउने क्रममा उहाँकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय ४० वर्षीया फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएका छन् ।
घाइते ऐतबरिया र फुलकुमारीको तामागढी अस्पताल, कोल्हवी तथा निलमको सिटी अस्पताल, कोल्हवीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । अनिताको अवस्था भने सामान्य रहेको छ ।
घटनास्थल सुरक्षित राखी घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक सबिनकुमार कार्कीलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।


















Discussion about this post