माओवादी स्थायी समिति बैठकमा प्रचण्डको विकल्प नभएको धारणा

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको तेस्रो दिन बोल्ने अधिकांश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् ।केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको एजेण्डामाथि १९ जना पदाधिकारीले आ–आफ्ना धारणा राखेका थिए । तीमध्ये उपमहासचिव जनार्दन शर्मा बाहेक बोल्ने सबैले नेतृत्वमा प्रचण्डको विकल्प नभएको विचार राखेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकको पहिलो दिन साउन १६ गते अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माले पार्टीभित्रको अन्तरविरोध बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए । शर्माले अध्यक्ष प्रचण्ड र अन्य नेताले दिएको सुझावको प्रतिवाद गर्दै पार्टी निर्माणका लागि आफूले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्ने हो भोग्न तयार भएको बताएका थिए । २०६४ सालमा ३१ लाख जनमत रहेको पार्टी आज ११ लाखमा खुम्चिँदा नेतृत्वले आत्मालोचना गर्नुपर्ने धारणा राखे ।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाए, अरुले भित्रभित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु,’ उनले भने, ‘पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु । जति धकेल्न खोजे पनि म पार्टीमा अडिरहन्छु । ३१ लाखबाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । होइन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’

प्रवक्ता सापकोटाले समाजवादी क्रान्तिको आधार तय गर्न नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने धारणा राखे । जागरण अभियानपछि माओवादीप्रति विस्तारै पार्टी र नेतृत्वप्रति जनआकर्षण बढ्दै गएकाले प्रचण्डको विकल्प नभएको मत राखेको एक नेताले भने ।

‘पछिल्लो केन्द्रीय समिति बैठकले समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । उत्तराधिकारी तयार भएपछि मात्र नेतृत्व हस्तान्तरणको कुरा आउँछ, तर अहिले प्रचण्डको विकल्प छैन,’ उनले भने ।

उपमहासचिव हरिबोल गजुरेलले भने, ‘नेतृत्वको आलोचना मैले नै गरेको हुँ । प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले सुशसान, सामाजिक न्याय र समृद्धिको पक्षमा खुट्टा कमाउँदा मैले नै साथ छोडेको हुँ । फेरि सरकारले सुशासनको पक्षमा राम्रो काम गरेपछि साथ दिएको हुँ । लिडरसिप नयाँ ढंगले राइज भयो । पछिल्लो समय भिजिट भिसा प्रकरणमा दुई  बुँदेले भ्रम पार्‍यो । अहिले नेतृत्व सच्चिएर आएपछि सबैले साथ दिनुपर्छ ।’

यस्तै शर्माले आन्तरिक विषय बाहिर लगेर परिस्थिति बिग्रिएको धारणा राखेका थिए । शर्माले बैठकको एजेण्डामाथि कुनै छलफल नगरी आफ्नो प्रस्ताव राखेकोमा असन्तुष्टि व्यक्त गरे ।

उपाध्यक्ष नन्दकिशोर पुन पासाङले पार्टी निर्माणमा सबैले गम्भीर ढंगले सोच्नुपर्ने धारणा राखेका थिए । शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।‘अहिले पार्टीमा द्वन्द्व बढाउने होइन । सबै मिलेर निर्माण गर्ने हो,’ उनले भने, ‘संसारमा अहिले लोकप्रियतावादी हाबी भइरहेको छ । त्यसको प्रभाव पार्टीमा पनि परेको छ । जनार्दनजीले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर प्रस्तुत हुनुभयो, आत्मालोचना गर्नुपर्छ ।’

उपाध्यक्ष पम्फा भुसालले विगतमा पार्टी विभाजन गरेर गल्ती गरिएको भन्दै आत्मालोचना गरिन् । पार्टी निर्माणमा नेतृत्वलाई सहयोग गरेर जानुपर्ने पक्षमा उभिएकी अर्का एक नेताले बताए ।

‘विगतमा पार्टी विभाजन गरेर राम्रो गरिएन भन्ने लागेको छ । पार्टी र नेतृत्वलाई कमजोर बनाएकोमा आत्मालोचना गर्छु । गुट, टुटफुटले कसैलाई पनि राम्रो गर्दैन । पार्टीप्रति चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्वलाई कमजोर बाउनु राम्रो होइन,’ उनले भनिन् ।

उपाध्यक्ष कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डलाई ‘ड्यामेज’ गरेर पार्टी निर्माण नहुने धारणा राखे । अहिले पार्टीभित्र अन्तरविरोध गरेर बस्ने समय नभएको भन्दै उनले नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए ।

‘प्रचण्डलाई ड्यामेज गरेर कसैलाई फाइदा हुँदैन । नेतृत्वलाई सहयोग गरेर नै जानुपर्छ । पार्टी एकढिक्का बनाएर जान सबैले आ–आफ्ना कमजोरी स्वीकारौं,’ उनले भने ।
सचिव हितमान शक्यले विगतमा पार्टी विभाजनको नेतृत्व गरेकोमा पश्चाताप गरेका छन् ।

‘विगतमा पार्टी विभाजनको नेतृत्व गरेकोमा म आत्मालोचना गर्छु । पार्टी टुटफुटले कसैलाई राम्रो हुँदैन रहेछ भनेर अनुभव भएको छ । त्यसैले अहिले कसैले फूर्ति नलगाए हुन्छ । नेतृत्वमा प्रचण्डको विकल्प छैन,’ उनले भने ।

सचिव हितराज पाण्डेले पार्टी र नेतृत्वलाई कमजोर बनाउने गरी शर्माले अन्तरविरोध बाहिर लगेकोमा आलोचना गरे ।‘जनार्दनजीले पार्टीको निर्णय मान्नुभएको छैन । संसदमा पनि फरक ढंगले प्रस्तुत हुनुभएको छ । यसले पार्टी निर्माण हुँदैन । उहाँले आत्मालोचना गर्नुपर्छ,’ उनले भने ।

उपमहासचिव शक्ति बस्नेतले पार्टीले जनमत बढाइरहेको र नेतृत्वप्रति भरोसा बढिरहेको बेला असहयोग गर्नु राम्रो नभएको धारणा राखे ।‘माओवादीप्रति जनतामा बिस्तारै आकर्षण बढ्दै गएको छ । नेतृत्वप्रति विश्वास बढेर गएको छ । यस्तो बेलामा नेतृत्वलाई कमजोर बनाउने गरी गतिविधि गर्न हुँदैन,’ उनले भने, ‘अहिले प्रचण्डको विकल्प छैन । सबै मिलेर समाजवादी क्रान्तिको आधार तय गर्नुपर्छ ।‘
अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले सामुदायिक समाजवादी क्रान्तिका लागि सबै मिलेर लाग्नुपर्ने धारणा राखेका थिए । उनले पनि अहिले प्रचण्डको विकल्प नभएको धारणा राखेका थिए ।

‘हामी सबै मिलेर सामुदायिक समाजवादी क्रान्तिको तयारी गर्नुपर्नेछ । पछिल्लो केन्द्रीय समितिको निर्णय पनि त्यही हो । समाजवादी क्रान्तिका लागि अहिले प्रचण्डको विकल्प छैन,’ उनले भने ।

सचिव दीनानाथ शर्माले आफ्नै पालामा समाजवादी क्रान्ति हुने भन्दै त्यसको तयारीमा लाग्न आग्रह गरे ।‘मेरै पालामा नेपालमा समाजवादी क्रान्ति सम्भव छ । त्यसको नेतृत्व तपाईंहरुले नै गर्ने हो । अहिले नेतृत्वको विवाद गर्ने बेला होइन । उत्तराधिकारी तयार नभएसम्म प्रचण्डको विकल्प छैन,’ उनले भने ।

सचिव लीलामणि पोखरेलले पनि अहिले नेतृत्वमा प्रचण्डलाई नै  मानेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । सचिव चक्रपाणि खनालले पनि अहिले नेतृत्वको विकल्प नभएको भन्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष प्रचण्डले पेस गरेको एजेण्डामाथि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले बोल्न बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा दुई जनाले धारणा राखेपछि प्रचण्डले जवाफ दिने बताए ।

शनिबार बसेको बैठकमा उपमहासचिव वर्षमान पुन, मातृका यादव, सचिव देवेन्द्र पौडेल, राम कार्की र गंगानारायण श्रेष्ठले धारणा राखेका थिए । तीमध्ये कार्की मात्र शर्माको पक्षमा उभिएको नेताहरूले बताएका छन् । प्रचण्डले जसबाट गल्ती भएको उसले आत्मालोचना गर्नुपर्ने सञ्चारकर्मीसँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित