सिरहा, २८ वैशाख। सिरहमा नेपाल प्रहरीका इन्सपेक्टर राज यादवले हिमालय टेलिभिजनका सिरहा संवाददाता सुरेश रायसंग अभद्र व्यवहार गरेको छ। पत्रकार रायका अनुसार हेलमेट राम्रोसँग नलगाएको भन्दै इन्सपेक्टर यादवले दुर्व्यवहार गरेको बताए ।
गोलबजार नगरपालिका -४ स्थित वर्धमान अस्पतालमा उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु प्रकरणको समाचार संकलनका लागि पुगेका पत्रकार रायसँग इन्सपेक्टर यादवले हेलमेटको विषयमा विवाद सुरु गरेका थिए। रायका अनुसार समाचार संकलनकै क्रममा हालखबर सोध्दा सोध्दै यादवले ‘तिमीलाई हेलमेट लाउन आउँदैन’ भन्दै गालीगलौज गर्दै हेलमेट खोसेका थिए। थप अपमानजनक व्यवहार गर्दै यादवले मोटरसाइकल समेत नियन्त्रणमा लिन खोजेको बताए ।
‘प्रहरी जनताको सेवक हो कि शासक यस्तो व्यवहार कत्तिको उचित हो पत्रकार रायले प्रश्न उठाए। उनले प्रहरीको यस्तो व्यवहार पत्रकार मात्रै होइन, सर्वसाधारण नागरिकप्रति समेत अनुचित भएको बताए।
प्रत्यक्षदर्शीहरूका अनुसार संवादका क्रममा रायले ‘कसरी लाउने हो हेलमेट भनेर सोध्दा इन्सपेक्टर यादव झन् आक्रोशित भएका र धम्कीसमेत दिएका थिए। ‘मुख–मुखै लाग्छस्, बढी बोल्छस्’ भन्दै धम्क्याएको प्रत्यक्षदर्शीले बताए।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले भने सामान्य विवाद भएको प्रतिक्रिया दिए। ‘हेलमेट राम्रोसँग नलगाएकोले सम्झाउन खोज्दा सामान्य विवाद भएको हो’, उनले भने, ‘हेलमेट खोसेको भन्ने सूचना हाम्रो नोटिसमा छैन।’
स्थानीयले भने पत्रकारमाथिको प्रहरी व्यवहार अस्पताल सञ्चालकसँगको मिलेमतोमा भएको आशंका व्यक्त गरेका छन्। सुत्केरी महिलाको मृत्यु प्रकरणमा अस्पतालमाथि उठेका प्रश्नहरूबाट ध्यान अन्यत्र मोड्न प्रहरीमार्फत पत्रकारमाथि दबाब सिर्जना गरिएको उनीहरूको भनाइ छ।
यस घटनाको स्थानीय पत्रकार तथा नागरिक समाजमा असन्तोषको लहर फैलिएको छ। उनीहरूले प्रहरी प्रशासनसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग समेत गरेका छन्।
















Discussion about this post