एसईईमा चाेरी गराउन ठूलाे षड्यन्त्र भएकाे छ : मुख्यमन्त्री सिंह

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS
  • केन्द्राध्यक्ष चयनको प्रक्रिया स्वीकार्न सकिन्नँ’

सिरहा —मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चाेरी गराउन ठूलाे षड्यन्त्र भएकाे आराेप लगाएका छन् । एसइईमा मधेश प्रदेश सरकारकाे निर्णय कार्यान्वयन नभएकाले परीक्षा सञ्चालन प्रक्रियाबाट बाहिरिएको मुख्यमन्त्री सिंहले बताए।

परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिने अवस्था रहेको, परीक्षार्थीलाई चिट चोराउन केन्द्राध्यक्ष र शिक्षकको बढ्दो सक्रियता देखिएको उनले बताए । ‘यो अवस्था सुधार्न खोजिएको थियो । तर केन्द्राध्यक्ष चयनमा संघ सरकारका कर्मचारी रहने र जिल्ला परीक्षा समितिबाट प्रदेश सरकारको निर्देशन अवज्ञा हुनु दुर्भाग्यपूर्ण र प्रत्युत्पादक रहेकाे हाम्रो ठहर छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने र शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्यसचिव रहने शिक्षा परीक्षा समन्वय समितिले गरेको केन्द्राध्यक्ष चयनको प्रक्रिया स्वीकार्न नसकिने मुख्यमन्त्री सिंहले बताए । परीक्षा समन्वय समितिहरूले साबिककै व्यवस्था दोहोर्‍याउँदै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गरेका र नियुक्ति गर्ने प्रक्रिया अघि बढाएकाले परीक्षा प्रक्रियाबाट बाहिरिएको उनको भनाइ छ ।

‘योग्य तथा सक्षम शिक्षकको मनोबल वृद्धि गरी समान अवसरको अनुभूति दिलाउन र परीक्षा सञ्चालनमा स्वार्थ समूहको दबाब वा हस्तक्षेप नियन्त्रण गर्न खाेजेका थियौं,’ उनले भने, ‘स्वार्थ समूहको चासोमा प्रदेश सरकारकाे निर्णय अटेर गरिएकाे छ ।’ गोलाप्रथाबाटै केन्द्राध्यक्ष नियुक्ति हुनुपर्ने प्रदेश सरकारको सोच रहेकाे उनले बताए ।

परीक्षामा विकृति एवम् बेथिति निम्तन सक्ने अवस्थामा प्रदेश सरकार साक्षीकिनारा बस्न नसक्ने शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले बताइन् । प्रदेश सरकार र संघको निर्देशनलाई चुनौती दिनेगरी भएको केन्द्राध्यक्ष चयनको मृष्ठभूमिका विषयमा गहिरो छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित