गोलबजार, सिरहा – सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० मा आरसीसी ढलान सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएका छन्। १५ लाखको लागतमा सडक ढलान भएको छ । पहिलेदेखि नै हिलो, धुलो र असहज यात्राको समस्या झेल्दै आएका स्थानीयहरूले अब सहज र व्यवस्थित सडक पाउने भएपछि स्थानीय खुशी भएका छन्।
निर्माण कार्य सम्पन्न भएपछि नगर प्रमुख श्याम कुमार श्रेष्ठ स्वयं अनुगमनका लागि पुगेका थिए। अनुगमनका क्रममा स्थानीयहरूले नगरपालिकाको पहलप्रति आभार व्यक्त गर्दै श्रेष्ठलाई धन्यवाद दिएका छन्।
स्थानीय बासिन्दा रामेश्वर यादव भन्छन्, “पहिले पानी परेपछि घरबाट बाहिर निस्कनै मुस्किल हुन्थ्यो। बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैनथ्यो। अहिले भने हाम्रो दु:ख समाप्त भएको छ। नगरपालिकाले हाम्रो माग सम्बोधन गरिदिएर हामी खुशी छौँ।”
नगर प्रमुख श्रेष्ठले भने, “नगरवासीको लामो प्रतीक्षा अब समाप्त भएको छ। गोलबजार–१० मात्र होइन, अन्य वडाहरूमा पनि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेका छौँ। यो सडक निर्माणले यहाँका बासिन्दाहरूको दैनन्दिन जीवन सहज बनाउनेछ।”
स्थानीय सरकारको यो प्रयासले विद्यालय जाने विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। यातायात सहज भएसँगै आर्थिक गतिविधि समेत बढ्ने आशा स्थानीयले व्यक्त गरेका छन्।
नगरपालिकाले विकास निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले गोलबजारलाई अझ व्यवस्थित र सुविधायुक्त नगर बनाउन मद्दत गर्ने जनाएका छन ।
Discussion about this post