सिरहा, ४ फागुन : राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका जस्तै अब नागरिकको अवस्था बदल्न जिम्मेवार पत्रकारिताको खाँचो रहेको बताएका छन् ।
लहानस्थित रासस कार्यालय सिरहाले आज यहाँ आयोजना गरेको ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य राजकुमार गुप्ताले नागरिकको अवस्था बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । “नेपालका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । आगामी दिनमा जिम्मेवारपूर्ण ढङ्गले सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन तथा प्रसारण गरी नागरिकको जीवनस्तर बदल्न भूमिका खेल्न म आग्रह गर्दछु”, उहाँले भन्नुभयो । प्रदेशसभा सदस्य गुप्ताले निष्पक्ष समाचारको अभावमा समाजमा दुर्घटना हुन सक्नेतर्फ पत्रकारहरु सजग हुनुपर्नेमा जोड दिनुभयो ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले सन्तुलित समाचार उत्पादन गरी समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन रासस र समग्र पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्द्र प्रशंसा गर्नुभयो । उहाँले रासस र पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग तथा कार्यक्रम गरिरहेको भन्दै स्थानीय तहको स्वस्थ आलोचना गरी त्रुटिहरु औँल्याइदिन आग्रह गर्नुभयो ।
लेखक तथा विश्लेषक राजेश विद्रोही, जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडा, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानलगायतले पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूले आआफ्नो धारणा राखेका थिए । रासस सिरहा कार्यालय लहान प्रमुख सुदीप राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
Discussion about this post