सिरहा, २८ माघ – नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज तथा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले लघुवित्त संस्थाहरू महिलालाई आत्मनिर्भर बनाउन सफल भएको बताएका छन्। सिरहाको गोलबजारमा हाेटेल पावन मिथिला थालिमा आयोजित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड को छैठौँ वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठले देशकाे वर्तमान आर्थिक अवस्था कमजोर रहेको उल्लेख गरे।
श्रेष्ठका अनुसार बैंक, सहकारी तथा लघुवित्त संस्थाहरूबाट प्रवाह गरिएका ऋण उठ्न नसक्दा वित्तीय क्षेत्र नै संकटमा परेको छ। “ऋण लिने तर समयमा फिर्ता नगर्ने प्रवृत्तिले अर्थतन्त्रलाई झन् कमजोर बनाएको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई घाटामा पुर्याएको छ,” उनले भने। साथै, नागरिकलाई आर्थिक अनुशासन पालना गर्दै ऋणको सदुपयोग गर्न आग्रह गरे।
श्रेष्ठले आर्थिक स्थायित्व र समृद्धिका लागि सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै भने, “हामी सबैले आफ्नो जिम्मेवारी बुझे मात्र देशको आर्थिक अवस्था सुधार गर्न सकिन्छ।”
संस्थाको कारोबार वृद्धिप्रति नगर प्रमुख श्रेष्ठ खुसी
गोलबजार नगरपालिकाका नगर प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष श्याम कुमार श्रेष्ठले संस्थाको कारोबार वृद्धिप्रति खुसी व्यक्त गरे। उनले आफू अध्यक्ष रहँदा संस्थाको कारोबार १३ अर्ब रुपैयाँ रहेकोमा हाल १८ अर्ब रुपैयाँ पुगेको जानकारी दिए।
उनका अनुसार, विगतका वर्षहरूमा लघुवित्त तथा सहकारी क्षेत्रका सदस्यहरूले गरेका आन्दोलनका कारण नाफामा कमी आएको छ। “आन्दोलनका कारण श्रृजनशील मात्र होइन, देशभरका वित्तीय संस्थाहरू प्रभावित भए। यद्यपि, संस्था नाफामै रहेकामा हामी सन्तुष्ट छौं,” उनले भने।
संस्थाको वर्तमान आर्थिक अवस्था
श्रृजनशील लघुवित्त वित्तीय संस्थामा हाल कुल लगानी २१ करोड १९ लाख ३० हजार ६ सय ९० रुपैयाँ रहेको छ भने नाफा १ करोड ४० लाख ३८ हजार ८ सय ४२ रुपैयाँ रहेको छ। संस्था हाल मधेस प्रदेश काेषि प्रदेश र बगमती प्रदेश को १० जिल्लामा ३६ वटा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
वार्षिक साधारण सभा सम्पन्न
संस्थाको छैठौँ वार्षिक साधारण सभामा लघुवित्तका अधिकृत, कर्मचारी तथा शेयरधनीहरूको उपस्थित रहेको थियो। साधारण सभामा वित्तीय संस्थाको वर्तमान अवस्था, ऋण उठाउने चुनौती, आर्थिक अनुशासन, तथा भावी रणनीतिबारे छलफल भएको थियो।
श्रेष्ठले लघुवित्त संस्थाहरूले विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, महिलाहरूको आर्थिक उन्नति एवं आत्मनिर्भरताका लागि वित्तीय संस्थाहरूले अझ प्रभावकारी योजना ल्याउनु आवश्यक रहेको धारणा व्यक्त गरे।
Discussion about this post