भारतीय गायक पंकज उदासको निधन

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

काठमाडौं । चर्चित भारतीय गजल तथा पार्श्व गायक पंकज उदासको ७२ वर्षको उमेरमा सोमबार निधन भयो । प्याङ्क्रियाज क्यान्सरका कारण यी सिद्धहस्त गायकले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । पंकजका श्रीमती फरीदा र दुई छोरी नायब र रेवा छन् ।

उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनको परिवार राजकोट नजिकैको चरखाडी सहरको बासिन्दा थियो । उनका हजुरबुबा भावनगरका जमिन्दार थिए । उनका बुबा केशुभाइ सरकारी कर्मचारी थिए । बुबा इसराज (संगीत वाद्य) बजाउन मन पराउँथे र आमा जीतुबेनको पनि संगीतमा रुचि थियो । जसकारण पंकज र उनका दुई दाजु संगीततर्फ लागे ।

पंकजले गायनमा करिअर बनाउने सोचेका थिएनन् । त्यतिबेला भारत–चीन युद्ध चलिरहेको थियो । यसै क्रममा लता मंगेशकरको गीत ‘ए मेरे वतन के लोगों’ रिलिज भएको थियो । पंकजले गाएको ‘ए मेरे वतनको लोगों’ले श्रोताका लागि मर्मस्पर्शी गीत थियो । एकजना दर्शकले उनलाई ५१ रुपैयाँ पुरस्कार थियो । गायनबाट यो उनको पहिलो कमाइ थियो ।

पंकजका दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रका चर्चित नाम थिए । विद्यालयमा उत्कृष्ट प्रदर्शनपछि पंकजले पनि दाजुभाइले जस्तै संगीत क्षेत्रमा राम्रो गर्न सक्छन् भन्ने उनका आमाबाबुलाई लाग्यो । त्यसपछि उनी राजकोटको म्युजिक एकेडेमीमा भर्ना भए ।

संगीतको पढाइपछि पंकजले ठूला स्टेज शोमा प्रस्तुति दिए । उनी बलिउडमा आफ्नो स्थान बनाउन चाहन्थे । उनले चार वर्ष बलिउडमा संघर्ष गरे तर ठूलो काम पाएनन् । ‘कामना’ नामक फिल्ममा आफ्नो एउटा गीतमा आवाज दिए, त्यो फिल्म पनि फ्लप भयो । त्यसपछि उनले विदेशमा बस्ने निर्णय गरे ।

राजेन्द्र कुमार र राज कपुर निकै मिल्ने साथी थिए । एकदिन उनले राज कपुरलाई डिनरको निम्तो दिए । डिनरपछि पंकज उदासले गाएको गजल ‘चिठी आई है’ राज कपुरलाई सुनाउँदा उनी रोए । उनले यो गजल पंकजले भन्दा राम्रो कसैले गाउन नसक्ने बताए ।

उनलाई गजल मञ्च र गायनमा उहाँका दाजु मनोहर उदासले परिचय गराएका थिए । उनले भारत–चीन युद्धका बेला संकटकालमा पहिलो पटक स्टेजमा प्रस्तुति दिएका थिए । ‘ए मेरे वतन के लोगो’ गीत गाएका उनले नवरात्रिको अवसरमा यो गीत गाउँदा त्यहाँ पाँच हजार मानिसको भीड लागेको थियो ।

‘चिठ्ठी आई है’सहित उनले गाएका ‘ना कजरे की धर’, ‘चन्दी जैसा रंग हे तेरा’लगायत दर्जनौं गीत र गजल आज पनि दर्शकको ओठमा झुण्डिएका छन् । उनले सन् १९८० मा ‘आहत’ नामको गजल एल्बमबाट आफ्नो करिअर सुरु गरेका थिए ।

यसपछि उनले १९८१ मा ‘मुकरार’, १९८२ मा ‘तरन्नुम’, १९८३ मा ‘मेहफिल’ जस्ता एल्बमबाट ख्याति कमाए । फिल्मी पर्दामा उनले महेश भट्टको फिल्म ‘नाम’ को लागि ‘चिठी आई है’ गीत मात्र गाएनन्, उनले यो फिल्ममा प्रस्तुति समेत दिए । यो गीत सुपरहिट मात्र भएन, धेरै रेकर्ड पनि बनायो । २००६ मा उनलाई भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित गरियो ।

पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । त्यतिबेला उनी स्नातक अध्ययनरत थिए । फरिदा एयर होस्टेस थिइन् । दुवैको भेट एक साथीको विवाहमा भएको थियो । पंकजले फरिदालाई पहिलो नजरमै मन पराए । दुईबीच पहिले मित्रता थियो, त्यसपछि प्रेम ।

पंकजको परिवार यो सम्बन्धका लागि तयार थियो तर फरिदाको परिवारले यो सम्बन्धलाई स्वीकार गरेनन् । उनीहरु युवतीलाई अर्को धर्ममा बिहे गर्न चाहँदैनथे । फरीदाको आग्रहमा पंकज उनको घर गए र बुबासँगको सम्बन्धको बारेमा कुरा गरे । फरीदाका बुबा रिटायर्ड पुलिस अफिसर थिए । त्यसैले पंकज धेरै डराउँथे, तर उनले आफ्नो शब्दले उनको मन जिते । फरिदाका बुबा पनि उनीहरुको विवाह गर्न राजी भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदासको महाप्रस्थानले सांगीतिक जगतमा कहिल्यै भर्न नसकिने खाली ठाउँ छाडेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जसको गायनले विभिन्न भावना व्यक्त गर्‍यो र जसको गजलले सीधा आत्मासँग कुरा गर्‍यो । उहाँ भारतीय संगीतको प्रकाश हुनुहुन्थ्यो, जसको धुनले धेरै पुस्ताहरु पार गरेको थियो । वर्षौंदेखि उहाँसँग मेरो विभिन्न अन्तरक्रिया सम्झन्छु । उहाँको प्रस्थानले सांगीतिक जगतमा कहिल्यै भर्न नसकिने खाली ठाउँ छाड्यो ।’

उनको सांगीतिक यात्रा निष्ठा र त्यागले अघि बढेको थियो । मर्मस्पर्शी उनका गजलले सीधै हृदयलाई छुने र अन्तरक्रिया गर्थे । कर्णप्रिय आवाज र गीतमार्फत संवेदना सम्प्रेषण गर्न सक्ने उनको खुबीले उनलाई भारतीय संगीतको घरेलु नामको रुपमा मात्र स्थापित गरेन, उनी विश्वभरका गजलप्रेमीका नायक बने । उनी विश्वभरका गजलप्रेमीका आशा पुञ्ज थिए ।

‘चिट्ठी आई है’ र ‘जियो तो जिए कैसे’जस्ता उनका मास्टरपिस गीतहरु पुस्तौंसम्म गुञ्जिइरहनेछन् । संगीतमार्फत वास्तविक भावना प्रवाह गरेर उनले विश्वभरका फ्यानको सम्मान प्राप्त गरेका छन् । उनी गजल मात्र होइन, भारतीय फिल्म गायनमा हस्ती हुन् । उनी कथा वाचन गर्न सक्ने खुबी भएका गायक थिए ।

उनका गीतले शब्दमार्फत क्यानभासमा तस्वीर कोर्थे । उनका प्रत्येक संगीत सिर्जना आफैंमा क्यानभासमा पोतिएका सजिव चित्रजस्तै हुन् । संगीतमार्फत प्रेम, त्याग र जटिलताका भावना सम्प्रेषण गर्ने उनी वास्तवमै आधुनिक युगका संगीतका प्रतिमूर्ति समेत हुन् । उनको यात्रा सांगीतिक तथ्य र घटनाको संग्रह मात्र थिएन बरु, यसले दर्शकको हृदयमा बास गरेको थियो ।

प्रत्येक श्रोता र दर्शकले पंकजसँग आफ्नो हृदयको सम्बन्ध गाँस्थे । स्टेजमा उनले दिने लाइभ प्रस्तुतिको करिश्माबाट उनले सबैलाई प्रभावित तुल्याउन सक्थे । उनको सांगीतिक यात्रालाई बिदाइ भनिरहँदा हामी उनको आवाज मात्र होइन, मेलोडी पछाडिका एक व्यक्तिको रुपमा बुझ्न सक्छौं ।

उनी एक कलाकार मात्र थिएनन्, एक सांस्कृतिक प्रतीक थिए जसले रेकर्डिङ स्टुडियोभन्दा पर रहेर प्रभावित तुल्याउन सके । शास्त्रीय संगीतलाई आधुनिक संगीतसँग मिश्रण गर्न सक्ने उनको विशेषताले उनलाई ट्रेन्डसेटरको रुपमा स्थापित गरेको थियो । यसले संगीतको पुस्तौं पुस्तालाई प्रभावित तुल्याइरहनेछ ।

संगीतको ल्याण्डस्केप छिटो छिटो परिवर्तन भइरहेको बेला वर्तमान अवस्थामा पंकज उदास भारतीय संगीतको आधुनिक पुस्ताका लागि एक आशाको दियो बन्नेछन् । उनको महाप्रस्थानले कहिल्यै नपुरिने रिक्तता छाडेर गएको छ । तर उनको संगीतले यो कुराको निश्चय गर्छ कि उनी गीतमार्फत युगौंगुग जीवन्त रहिरहनेछन् र आफ्ना मर्मस्पर्शी संगीत सिर्जनाबाट आनन्द र अनुभूतिको महसुस गराइरहनेछन् ।

उनको प्रस्थानको यो समय उनले पृथ्वीलाई दिएका उपहारहरु ‘सेलिब्रेसन’ गर्ने समय हो । उनका कालजयी संगीत समयको यात्रामा गुञ्जिरहनेछन् र हामीलाई संगीत जीवन्त हुन्छ भन्ने अनुभूति गराइरहनेछन् । उनले यो धर्ती छाडेपनि उनको मेलोडी र अनुभूति युगौंसम्म गुञ्जिरहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित