काठमाडौं : अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट राजकरण महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका छन्। उनीहरूविरुद्ध महतोले बानेश्वर प्रहरी वृत्तमा गाली बेइज्जती तथा क्षतिपूर्तिको उजुरी गरेका छन्।
आइतबार दिउँसो करिब १२ बजे काठमाडौं तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए। आफूमाथि किन दुर्व्यवहार गरियो भनेर सोध्दा महतोलाई बसका दुवै कर्मचारी मिलेर कुटपिट गर्न खोजेका थिए।
मसँग भएको यो पहिलो र एउटा मात्रै घटना होइन। मेरो जातीय पहिचान, मधेसी समुदायमाथि गरिने यस्ता सार्वजनिक बेइज्जती मलगायत तमाम व्यक्तिले भोग्दै आएका छन्’, प्रहरीमा दर्ता गराएको उजुरीमा उनले भनेका छन्,
‘काठमाडौं बसाइको अढाई वर्षको अन्तरालमा समाचार संकलनका लागि फिल्डमा खटिँदा आधा दर्जनभन्दा बढी पटक सडक, बजार, चोकमा मैले र मसँग रहेका आफन्तजनहरूले लगाएको पोसाक, अनुहार, र बोलेको बोलीका आधारमा ‘भैया’, ‘बिहारी’, ‘मर्सिया’ भनेर दोस्रो दर्जाको नागरिकको रूपमा लिई अपमान गर्दै आएको तीतो यथार्थ ताजै छ।’
उनले दोषीलाई अविलम्ब पक्राउ गरेर कानुनी दायरमा ल्याई न्याय दिलाउन अनुरोध गरेका छन्। सार्वजनिक अभद्र व्यवहार तथा गाली बेइज्जती कसुरमा दोषीहरूलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न तथा उचित क्षतिपूर्ति दिलाउन माग गरेका छन्।
बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी शिवराज बुढाथोकीले महतोमाथिको दुव्र्यहार अत्यन्त निन्दनीय रहेको बताउँदै दोषीलाई पक्राउ गर्न प्रहरी खटाएको र कानुनी दायरा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताए।
पत्रकार महतोले मधेसी आयोगमा पनि उजुरी दायर गरेका छन्। आयोगका अध्यक्ष डा. विजय दत्तले उक्त घटना संविधान र कानुनविपरीत रहेको उल्लेख गर्दै आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई पत्राचार गर्ने जानकारी दिए।
Discussion about this post