असाेज २६ काठमाडौँ । भेपमा सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
धरौटी बुझाएमा उनी रिहा हुनेछन्।
गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन् । ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ । उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए ।
नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए । राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो। साथै, तस्करीमा मुछिएका चिनियाँहरूसँग पनि उनको घनिष्ठ सम्बन्ध देखिएको थियो ।
राहुलले आर्थिक लाभका निम्ति तस्करहरूसँग मिलेमतो गरेको, अपराध गर्न पिरामिड शैलीमा तहगत जिम्मेवारीहरू बाँडफाँट गरेको, भन्सारमार्फत नेपाल सरकारलाई प्राप्त हुने राजस्व नोक्सान हुनेगरी काम गरेको र भन्सारबाट सुन तस्करी गराउन प्रत्यक्ष भूमिका खेलेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उक्त सुन भन्सारबाट छुटाउन महराका बाबुछोराले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ तथा भन्सारका प्रमुख प्रशासक अरुण पोखरेलले बारम्बार फोन गर्ने, भेट्ने र एमएमएसबाट समेत दबाब दिएको अभियोगपत्रमा उल्लेख छ ।
Discussion about this post