असाेज २५ सिरहा- सिरहा मिटरब्याज विरुद्धको संघर्ष समितिले पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सिरहाको गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज पीडितहरुको समस्या सात दिनभित्र देखिनेगरी समाधान गर्न आग्रह गरेको छ । समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको जनाइएको छ । ‘हामीसँग जुन हिसाबले सहमति भएको थियो, त्यसप्रति राज्य इमानदार रहेन भन्ने निष्कर्षमा अन्ततः हामी पुगेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण अब फेरि यो राज्य र राज्य संयन्त्रहरुको विरुद्धमा अर्को लडाइँका लागि अन्यायमा परेको हाम्रो मस्तिस्कले हामीलाई उक्साइरहेको छ । पछिल्ला दिनमा पीडितहरुलाई दैलोमा उभ्याएर, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा साहुहरुलाई राखेर घण्टौँ गफ हुने गरेको र एउटै मुद्दामा १० औँ पटक छलफल गर्दा पनि निर्णय हुन नसकेको संघर्ष समितिको आरोप छ । सिरहामा जम्मा ३ हजार ७८८ भन्दा बढी मिटरब्याज पीडितको मुद्दा दर्ता भएको छ । अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मुद्दामा मात्र सहमति भएको आन्तरिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादवले जनाएका छन् ।
Discussion about this post