हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।
गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने देखिएको छ । यद्यपि सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ । विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागवण्डाका विषयमा भने छलफल हुनुपर्ने उनले बताए ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।
गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् रातोपाटी ,
Discussion about this post