मिर्चैयाका किसानसँग रकम असुलेर वडा अध्यक्ष यादव फरार

Picture of हरियो पाटी

हरियो पाटी

545
SHARES
747
VIEWS
सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एक वडा अध्यक्ष किसानलाई बोरिङ जडान गरिदिन्छु भन्दै अवैध रूपमा रकम असुल गरेर बेपत्ता भएका छन् ।

मिर्चैया नगरपालिका–११ सीतापुरका वडा अध्यक्ष चन्द्रदिप कुमार यादव दर्जनौँ किसानसँग बोरिङ जडान गरिदिने नाममा लाखौँ रकम असुल गरेर दुई वर्षदेखि बेपत्ता भएका हुन् ।

वडा अध्यक्ष यादवले आफ्नै वडाका किसानसँग सिँचाइ बोरिङ जडान गरिदिने भन्दै जनही १५ हजार रुपैयाँका दरले रकम असुली गरेको स्थानीय ६५ वर्षीय भरत यादवले बताए । उनले भने, ‘मसँग २०८१ फागुनमा बोरिङ जडान गरिदिने भन्दै रकम मागे, मैले पनि दिएँ । केही दिन त काम भइहाल्छ भन्दै थिए । पछि उनी गायब भए ।’

Laxmi sunrise bank

५८ वर्षीय रामाशिष यादव, ३५ वर्षीय जगवीर यादव, चन्देश्वर यादव, वैजनाथ यादवसहित दर्जनौँ किसानसँग सरकारको तर्फबाट बोरिङ आएको छ, चाहिनेहरूले १५ हजारका दरले रकम जम्मा गर्नुपर्छ भन्दै घर–घरमै पुगेर वडा अध्यक्ष यादवले रकम उठाएको पीडितको भनाइ छ ।

Shivam Cement

भरत यादवले भने, ‘वडा अध्यक्षले भनेपछि होला त भनेर पैसा बुझायौँ, तर अहिले उनी आफैँ फरार छन् । हामीले न बोरिङ पायौँ, न त पैसा नै फिर्ता पायौँ ।’

वडा अध्यक्ष यादवले सयौँ व्यक्तिसँग रकम असुल गरेको स्थानीयको दाबी छ । पैसा बुझाएकामध्ये केहीको जमिनमा बोरिङ जडान भएको उनीहरूले बताए ।

वडा सदस्यसमेत रहेका मनिकलाल यादवले आफैँले पनि किसानहरूमार्फत रकम दिलाएको बताए । उनले भने, ‘मैले किसानसँग रकम नलिन भनेँ, तर वडा अध्यक्षले गाड्ने खर्च लिनुपर्छ भन्दै असुल्नु भयो । मैले पनि दिलाउन लगाएँ, अहिले किसानले न बोरिङ पाए, न त पैसा नै फिर्ता पाए ।’

मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले उपभोक्तासँग रकम असुलगर्ने नगरपालिकाको कुनै योजना नबनेको बताए । उनले भने, ‘नगर तथा वडाका योजनाहरूमा उपभोक्तासँग रकम लिएर काम गर्ने कुनै योजना नै बनेको छैन । कुनै वडाले लिएको भए त्यो गलत हो ।’

आफूले पनि बोरिङ जडान गर्न रकम लिएकोबारे सुनेको तर पालिकामा यसबारे आधिकारिक जानकारी नआएको उनको भनाइ छ । ‘पीडित व्यक्तिहरूले नगरमा उजुरी गरे त्यसमा हामी छानविन गर्छौं, तर अहिलेसम्म त्यस्तो आधिकारिक कुनै उजुरी आएको छैन ।’

वडा अध्यक्ष यादव दुई वर्षदेखि वडा कार्यालयमा आउन छाडेका छन् । निमित्त वडा अध्यक्ष झगरु माझीले वडा अध्यक्ष कहिलेकाहीँ आउने गरे पनि करिब २ वर्षदेखि वडा कार्यालयमा नबसेको बताए ।

‘कहिले मलाई, कहिले अन्यलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर उहाँ हिँडिरहनु भएको छ,’ उनले भने, ‘म गत २०८२ मंसिरदेखि चैतसम्म र पछिल्लो पटक साउन ४ देखि हालसम्म कार्यवाहकको रूपमा काम गरिरहेको छु ।’

अर्का वडा सदस्य मनिकलाल यादवले ८ महिना कार्यवाहक भएर काम गरेको बताए । उनले पनि वडा अध्यक्ष यादव सम्पर्क विहीन रहेको सुनाए ।

वडा अध्यक्ष यादवले किसानसँग रकम लिएको स्वीकार गरेका छन् । उनले आफू पनि एउटा गैरसरकारी संस्थाको कारण फसेको बताए । सो संस्थाको जिम्मेवार व्यक्तिसँग कुराकानी भइरहेको र चाँडै यसको छिनोफानो हुने उनले फोनमार्फत बताए ।

आफू कतै नभागेको र काठमाडौँमा उपचार गराइरहेको वडा अध्यक्ष यादवले बताए । उनले भने, ‘म अहिले काठमाडौँमा उपचार गराइरहेको छु । यही साताभित्र फर्कंदै छु, म भागेको छैन ।’

तर वडाअध्यक्ष आफैँले हस्ताक्षर गरेको कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको पत्रमा भने ‘कामकाजको लागि बाहिर देश जानु पर्ने भएकाले मिति २०८३ साउन ४ गतेदेखि नआउँदासम्मको लागि वडासम्बन्धी प्रशासनिक, योजना सञ्चालन सम्पन्न कार्य, बजेट र आर्थिक कारोवारसम्बन्धी सम्पूर्ण कार्यको लागि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको’ उल्लेख गरिएको छ ।रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित