सिरहा, ४ साउन। सिरहाको नरहा गाउँपालिका–२ पानबारीस्थित वडा कार्यालय कमिसन विवादका कारण शुक्रबारदेखि सोमबार दिउँसोसम्म बन्द हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्।
स्थानीय स्रोतका अनुसार वडा सञ्चालन खर्च तथा उपभोक्ता समितिबाट आउने कमिसन बापतको विभिन्न अबैध रकमको बाँडफाँटलाई लिएर वडा सचिव रामानन्द सिंह र वडा अध्यक्ष सम्झना सिंहबीच विवाद उत्पन्न भएको हो।
वडा सचिव सिंहले आफूले पाउनुपर्ने हिस्सा नपाएको भन्दै कार्यालय बन्द गरेको बुझिएको छ। यद्यपि, यस विषयमा वडा सचिव सिंहले कमिसनसम्बन्धी आरोपबारे खुलाउन चाहेनन्।
कार्यालय किन बन्द गरिएको भन्ने जिज्ञासामा वडा सचिव सिंहले भने, “आन्तरिक विवादका कारण कार्यालय बन्द गरिएको हो।” उनले विवादको थप विवरण खुलाउन अस्वीकार गरे।
स्थानीय स्रोतका अनुसार सोमबार गाउँपालिकामा हिसाब–किताब मिलाउने र बाँडफाँट गर्ने सहमति भएपछि वडा सचिव सिंहले साेमबार दिउँसो करिब ३ बजे कार्यालय पुनः सञ्चालनमा ल्याएका थिए।
कार्यालय बन्द हुँदा सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिस, जन्मदर्ता, मालपोतसम्बन्धी सिफारिसलगायत सेवा लिन आएका दर्जनौँ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका थिए।स्थानीय राजेश भण्डारीका अनुसार घण्टौँसम्म कार्यालयमा कुरेर पनि सेवा नपाएपछि धेरै सेवाग्राही निराश भएर घर फर्किएका थिए।
“ज्येष्ठ नागरिकदेखि अन्य सेवाग्राहीसम्मले अत्यावश्यक कामका लागि वडा कार्यालय धाएका थिए, तर सेवा नपाएपछि निराश भएर फर्किनुपर्यो,” भण्डारीले भने।
यस विषयमा प्रतिक्रिया लिन वडा अध्यक्ष समझना सिंह हसँग पटक–पटक सम्पर्क गर्न खोजिए पनि उहाँले फोन उठाउनुभएन।


















Discussion about this post