प्रधानमन्त्री बालेनले सीमा विवादबारे संसद्‌मा दिएको अभिव्यक्तिबारे के भन्छन् भारतीय मिडिया ?

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जबाफ दिए । लामो समयदेखि सांसदहरूले प्रधानमन्त्री बालेन शाहमाथि संसदमा आएर सांसदका प्रश्नको जबाफ दिन दबाब बढ्दै गएको थियो ।

यसअघि सांसदहरूले लिखित प्रश्न पठाउने र ती प्रश्न अध्ययन गरी पूर्वतयारीका साथ प्रधानमन्त्रीले जबाफ दिने प्रचलन थियो । यद्यपि प्रधानमन्त्री बालेनले त्यो प्रचलन तोड्दै अकस्मात बैठकमा उपस्थित भएर सभामुखसँग समय लिँदै प्रश्नोत्तर कार्यक्रममा सहभागी भए ।

सांसदले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सीमा विवादबारे गरेको प्रश्नमा प्रधानमन्त्री बालेनले कूटनीतिक माध्यमबाट वार्तामार्फत नै सीमा समाधान गरिने दाबी गरे । सोही क्रममा उनले नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछिमात्र थाहा पाएको बताएका थिए ।

उनको यो अभिव्यक्तिको विरोध भइरहेको छ । यसै सन्दर्भमा भारतीय मिडियामा पनि यो विषयले प्राथमिकता पाएको छ ।

भारतको चर्चित अखबार ‘नवभारत टाइम्स’को अनलाइन संस्करणले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा आधारित समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

बालेनले खासगरी भारतसँगको विवादित मुद्दालाई टकरावको साटो वार्ताबाट समाधान गर्न जोड दिएको ‘नवभारत टाइम्स’को अनलाइनस संस्करणमा प्रकाशन भएको समाचारमा उल्लेख छ ।

नेपालले सीमा विवादबारे भारत र चीनसँगमात्र नभएर इंग्ल्याण्डसँग पनि चर्चा गरेको विषयलाई उक्त समाचारमा समेटिएको छ ।

यस्तै, ‘दि प्रिन्ट’ले प्रकाशन गरेको समाचारमा नेपाल र भारतबिच लामो समयदेखि जारी सीमा विवाद समाधानका लागि इतिहासकारहरू, सर्वेक्षक र विशेषज्ञको सहयोग लिने विषयमा सहमति बनेको विषय बालेन शाहले उजागर गरेको उल्लेख छ ।

प्रधानमन्त्री बालेनले संसदमा बोलेको विषय उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘नेपाल सरकारले आधिकारिक रूपमा भारतलाई एक कूटनीतिक नोट पठाएको छ, जसमा लिपुलेकसमे भारतद्वारा नेपाली क्षेत्रमा अतिक्रमण भएको विषय उठाइएको छ । यसको जबाफ पनि हामीले पाइसकेका छौँ ।’

बालेनले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएकोमात्र नभई नेपालले पनि भारतीय भूभाग अतिक्रमण गरेकोबारे आफूले प्रधानमन्त्री भएपछि मात्र जानकारी पाएको जिकिर गरेको विषय पनि ‘दि प्रिन्ट’ले समाचारमा समेटेको छ ।

न्यूज १८’ च्यानलको अनलाइन संस्करणमा पनि यो विषयलाई प्राथमिकता दिइएको छ । नेपाल–भारत सीमा विवादको वास्तविक स्थितिलाई लिएर दुवै देश टेबलमा बसेर निष्पक्ष समीक्षा गर्न जरुरी रहेको विषयलाई बालेनले जोड दिएको समाचारमा उल्लेख छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रजस्ता समवेदनशील सीमा विवादको समाधान केवल कूटनीतिक संवादकै माध्यमबाट निकाल्न सकिन्छ भन्नेमा उनले जोड दिए,’ समाचारमा भनिएको छ ।

बालेन शाहको यो भनाइ नेपाल–भारत सीमा विवादको सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको पनि उक्त समाचारमा उल्लेख छ । समाचारमा भनिएको छ, ‘किनकि पहिलो पटक कुनै नेपाली प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्वीकार गरेका छन् कि सीमा सम्बन्धी विवादमा दुवै पक्षका दाबी र दायित्व सामेल छ ।’

भारतको चर्चित अखबार ‘दैनिक भाष्कर’को अनलाइन संस्करणमा पनि यो विषयले स्थान पाएको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेकोमात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भनेर बालेनले अभिव्यक्ति दिएको विषयलाई सो अखबारले समाचारमा जोड दिएको छ ।

उक्त समाचारमा पनि यस विषयमा नेपालले भारत र चीनलाई कूटनीतिक नोट पठाएको र इंग्ल्याण्डसँग पनि यसबारे चर्चा गरेको उल्लेख छ ।

उक्त समाचारमा नेपालले अतिक्रमण गरेको भूमिको क्षेत्रफलसमेत उल्लेख गरिएको छ । जस अनुसार उत्तराखण्डको जम्पावत जिल्लामा करिब १२.४ एकड, बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको लगभग ७ हजार १०० एकड, उत्तर प्रदेश राज्यको लखीमपुर खिरी, पीलीपीत, बहराईच र श्रावस्तीमा करिब ५०० एकड भूमि नेपालले अतिक्रमण गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

अर्को भारतीय अखबार ‘अमर उजाला’ले आफ्नो अनलाइन संस्करणमा भारत र नेपालबिच लामो समयदेखि जारी सीमा विवाद नेपालका प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले नयाँ विवादको कारण बनेको उल्लेख गरेको छ ।

बालेनले नेपालबाट पनि भारतीय भूभाग अतिक्रमण भएको भनेर दिएको अभिव्यक्तिले नेपालमा राजनीतिक र कूटनीतिक हलचल भएको उक्त समाचारमा उल्लेख छ ।

समाचारमा बालेनले दुवै मुलुक साथीजसरी संवादमा बसेर तथ्यको अध्ययन गर्नुपर्ने र सीमा विवादलाई शान्तिपूर्ण तरिकाबाट सुल्झाउन जोड दिएको भनेर व्याख्या गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित