काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य तथा नेता खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टीको साधारण सदस्यबाट राजीनामा गरेकी छन् ।पार्टीमा विधि र विधानविपरीतका क्रियाकलापले बढावा पाएको कुराको साक्षी बस्न नसक्ने भन्दै उनले राजीनामा गरेकी हुन् ।
भुर्तेलले बुधबार पार्टीबाट राजीनामा दिएको घोषणा सामाजिक संजालबाट गरेकी छन् । उनी २०७९ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार थिइन् ।
‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु,’ भुर्तेलले भनिन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ ।
तर, पार्टी विधि, विधान विपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको । जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु ।’
पार्टीमा रातदिन खटिएका क्षमतावान कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन नभएको भुर्तेलको भनाइ छ । ‘संगठनमा दिनरात खटिएका क्षमतावान घण्टीमित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्य माथि आँच आउने परिस्थिति बनेको छ,’ भुर्तेलले भनेकी छन्, ‘पार्टी सङ्कटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पंक्ति र आम नागरिकहरूलाई पनि जानकारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जवाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु ।’
बुधबारको मितिदेखि लागू हुने गरी रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गरेको भुर्तेलले घोषणा गरेकी छन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने आकांक्षा राखेकी थिइन् । उनले २०७९ को चुनावमा महोत्तरी ४ बाट रास्वपा उम्मेदवार थिइन् ।


















Discussion about this post