सिरहा । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा राकेश गुप्ता प्यानललाई ठूलो झट्का लागेको छ। महेश साह (कोक्वा) नेतृत्वको प्यानलबाट सचिव पदका उम्मेदवार सुनिल कुमार सिंह निर्विरोध निर्वाचित भएका छन्।
राकेश गुप्ता प्यानलबाट सचिव पदका उम्मेदवार बनेका टेकलाल नायक (पवन) ले उम्मेदवारी फिर्ता लिएपछि सिंह निर्विरोध निर्वाचित भएका हुन्। साथै, गुप्ता प्यानलका सदस्य पदका उम्मेदवार कृष्णा साहले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।
गोलबजार उद्योग व्यापार संघको निर्वाचनका लागि गत कार्तिक २५ गते उम्मेदवारी दर्ता भएको थियो। सचिव पदमा महेश साह (कोक्वा) प्यानलबाट सुनिल कुमार सिंह र राकेश गुप्ता प्यानलबाट टेकलाल नायक (पवन) ले उम्मेदवारी दिएका थिए।
कार्तिक २६ गते उम्मेदवारी फिर्ता लिने क्रममा नायकले सुरुमा निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी फिर्ता लिन निवेदन दिएका थिए। तर, केही घण्टापछि पुनः अर्को निवेदन दिँदै उम्मेदवारी कायम राख्न माग गरेका थिए।
यद्यपि, निर्वाचन कार्यालयले सुरुमा दिएको उम्मेदवारी फिर्तासम्बन्धी निवेदनलाई सदर गर्दै नायकको उम्मेदवारी कायम नराख्ने निर्णय गरेपछि सुनिल कुमार सिंहलाई सचिव पदमा निर्विरोध निर्वाचित घोषणा गरिएको हो।
निर्विरोध निर्वाचित भएपछि सिंहले व्यक्तिगत पदभन्दा पनि गोलबजारको बजार व्यवस्थापन, व्यापारीका साझा समस्या समाधान तथा व्यवसायीको हकहितलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।
सचिव पदमा भएको निर्विरोध निर्वाचन र गुप्ता प्यानलका सदस्य उम्मेदवार कृष्णा साहले समेत उम्मेदवारी फिर्ता लिएपछि गोलबजार उद्योग व्यापार संघको चुनावी प्रतिस्पर्धामा महेश साह प्यानल थप उत्साहित देखिएको छ।



















Discussion about this post