सिरहाका दुई स्थानमा आगलागी : चार पशुचौपायाको मृत्यु, घरगोठ जलेर नष्ट

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा । सिरहाका गोलबजार नगरपालिका र विष्णुपुर गाउँपालिकामा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा चारवटा पशुचौपायाको मृत्यु भएको छ। दुई छुट्टाछुट्टै घटनामा घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।

गोलबजार नगरपालिका–३ नेवारकुनी, चोरपाने निवासी गंगा बहादुर सुनुवारको घरगोठमा शुक्रबार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट हुँदा आगलागी भएको हो। आगलागीमा एउटा गोरुको मृत्यु भएको छ भने करिब पाँच क्विन्टल अन्नबालीसहित घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थल पुगेको छ। प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक खरेलका अनुसार क्षतिको यकिन विवरण संकलन गर्न मुचुल्का तयार गर्ने काम भइरहेको छ। मुचुल्कापछि मात्र क्षतिको विस्तृत विवरण खुल्ने उनले बताए।

यसैगरी, विष्णुपुर गाउँपालिका–४ थल्हा बथान टोलमा बिहीबार राति करिब १ः३० बजे आगलागी हुँदा तीनवटा पशुचौपायाको मृत्यु भएको छ। स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको गाईगोठ तथा भान्सा घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा एउटा भैँसी र दुईवटा गोरुको जलेर मृत्यु भएको छ भने घरभित्र राखिएका अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री नष्ट भएका छन्। विष्णुपुरमा भएको आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

दुवै घटनामा विद्युत् सर्टसर्किट आगलागीको कारण देखिएको छ। आगलागीबाट पीडित परिवारलाई ठूलो क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित