सिरहा, ७ असोज । सिरहा आगामी असोज ८ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लावासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले भारी वर्षाका कारण बाढी, पहिरो तथा तराईका विभिन्न क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ।
सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
प्रशासनले उक्त अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। विशेषगरी कमला र बलान नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन भनिएको छ।
त्यस्तै, आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र तथा नदी–खोला किनारमा बसोबास गर्ने नागरिकलाई चनाखो रहन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिनसमेत जिल्लावासीलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले असोज ७ गते जारी गरेको सूचनामा निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन सुचना जारी गरिएको छ ।


















Discussion about this post