सामाजिक सञ्जालमार्फत चरित्रहत्या र धम्की दिएको आरोपमा मनोज मानव पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सिरहा, ५ असोज । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध भ्रामक, आधारहीन तथा धम्कीपूर्ण सामग्री सार्वजनिक गरी सामाजिक शान्तिमा खलल पुर्‍याएको आरोपमा सिरहामा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार महतोले लामो समयदेखि जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक व्यक्ति तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्ति र समुदायलाई लक्षित गरी तथ्यहीन तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्दै आएको आरोप छ।

प्रहरीका अनुसार त्यस्ता सामग्रीका कारण व्यक्तिको प्रतिष्ठामा असर पर्नुका साथै सामाजिक सद्भाव र शान्तिमा समेत खलल पुग्न सक्ने अवस्था देखिएपछि प्राप्त जाहेरीका आधारमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा महतोलाई उदयपुरको चतरा पुलपारिको एक होटलमा लुकिछिपी बसेको अवस्थामा असोज ४ गते पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा पक्राउ गरी सिरहा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महतोमाथि सामाजिक सञ्जालमा आपत्तिजनक तथा भ्रामक सामग्री सम्प्रेषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा साइबर अपराधसम्बन्धी आधा दर्जन मुद्दा दर्ता भइसकेको सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले जनाएको छ ।

यसैबीच, महतोले आफूलाई पूर्व जनतान्त्रिक लडाकु भएको र आफूसँग स्वचालित हतियार रहेको भन्दै केही व्यक्तिलाई धम्की दिने तथा हतियारका तस्बिर पठाएर आपराधिक लाभ लिन खोजेको भन्ने सूचनासमेत प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित