लहान, २० साउन। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले लहान २२ सलोखरीका अरुण दासका २१ वर्षीय छोरा सञ्जय दास, रामु दासका २० वर्षीय छोरा गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका ६ का बद्री दासका २० वर्षीय छोरा साबरजित दासलाई उक्त हतियारसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंगलबार राति करिब १०ः३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई संकालागि चेकजाँच गर्ने क्रममा साबरजित दासको साथबाट पेस्तोल र म्याग्जिन बरामद भएको हो। पक्राउ परेका तीनैजना सँगै रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालका अनुसार प्रहरी चौकी सीतापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सीतापुरबाट इलाका प्रहरी कार्यालय लहान लगिएको प्रहरीले जनाएको छ।
बरामद पेस्तोल तथा म्याग्जिनबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


















Discussion about this post