गोलबजारमा सद्भाव कायम गर्न सर्वपक्षीय पहल, र आन्दोलनबाट भएको क्षतिको अनुगमन

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा– सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा  भएको क्षति र तनावपूर्ण घटनापछि गोलबजार नगरपालिकामा सामाजिक सद्भाव,धार्मिक सहिष्णुता र आपसी भाइचारालाई सुदृढ बनाउन नगरप्रमुख श्याम कुमार श्रेष्ठको नेतृत्वमा सर्वपक्षीय टोलीले आइतबार विभिन्न समुदायका अगुवा तथा धार्मिक गुरुहरूसँग भेटघाट गरेको छ।नगरप्रमुख श्रेष्ठसँगै उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय कुमार शाह, महासचिव राकेश गुप्ता, वडा अध्यक्ष बालकृष्ण गौतम तथा धनप्रसाद लामा लगायतको टोलीले हिन्दु तथा मुस्लिम समुदायका धार्मिक गुरु, अगुवा र स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्दै नगरमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो।

टोलीले आन्दोलनका क्रममा गोलबजार नगरभित्र भएका आगजनी, तोडफोड तथा अन्य भौतिक क्षतिको स्थलगत निरीक्षण गर्दै पीडित पक्षको अवस्थाबारे जानकारी समेत लिएको थियो। छलफलका क्रममा समुदायका अगुवाहरूले कुनै पनि घटनालाई धार्मिक वा साम्प्रदायिक द्वन्द्वको रूपमा नलिई कानुनी प्रक्रिया र आपसी संवादमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए।

नगरप्रमुख श्रेष्ठले गोलबजार बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक नगर भएकाले यहाँको पहिचान नै आपसी सद्भाव र सहअस्तित्व रहेको उल्लेख गर्दै शान्ति कायम राख्न सबै समुदायको समान भूमिका आवश्यक रहेको बताए। उनले आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन नगरपालिकाले सबै पक्षसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए।

उद्योग व्यापार संघका अध्यक्ष विजय कुमार शाहले बजार क्षेत्रलाई पुनः सहज र सुरक्षित वातावरणमा फर्काउन सबैले सहयोग गर्नुपर्ने बताए। उनले व्यवसायी, नागरिक समाज, धार्मिक अगुवा तथा स्थानीयवासीबीच एकता र विश्वास कायम भए मात्र गोलबजारको सामाजिक तथा आर्थिक गतिविधि पूर्ण रूपमा सामान्य बन्न सक्ने धारणा राखे।

टोलीले सबै समुदायलाई अफवाह र भ्रामक सूचनाबाट सचेत रहन, सामाजिक सञ्जालमा जिम्मेवार व्यवहार गर्न तथा शान्ति, सद्भाव र भाइचारालाई प्राथमिकता दिन आग्रह गरेको छ।

साथै आन्दोलनका क्रममा प्रभावित भएका सबै पक्षप्रति सहानुभूति व्यक्त गर्दै संवाद, सहकार्य र आपसी सम्मानका माध्यमबाट गोलबजारलाई पुनः शान्त, सुरक्षित र सद्भावपूर्ण नगरका रूपमा स्थापित गर्न सबैलाई एकजुट हुन अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित