सिरहा – नेपाल नगरपालिका संघको आयोजनामा अन्तर-नगर सहकार्यसम्बन्धी प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ। गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित छलफल कार्यक्रम आज गोलबजारमा सम्पन्न भएको हो।
सीमाना जोडिएका एक वा सोभन्दा बढी नगरपालिकाबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने, साझेदारीका अवसर खोज्ने तथा साझा विकास योजनाबारे अध्ययन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
छलफलमा गोलबजारसहित उदयपुरका कटारी नगरपालिका, सिरहाकाे कल्याणपुर नगरपालिका, कर्जन्हा नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका तथा सिरहाकाे धनगढीमाई नगरपालिकाका प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले अन्तर-नगर सहकार्यलाई संस्थागत गर्दै सेवा प्रवाह सुधार, पूर्वाधार विकास, आर्थिक तथा सामाजिक क्षेत्रका साझा कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रम गोलबजारस्थित होटल पवन मिथिला थालीमा सम्पन्न भएको हो।
अध्यक्षीय मन्तव्यमा नगर प्रमुख श्याम कुमार श्रेष्ठले यस प्रकारको सहकार्यले स्थानीय तहबीच अनुभव आदान-प्रदान, स्रोत-साधनको प्रभावकारी उपयोग तथा दिगो विकासमा उल्लेखनीय टेवा पुग्ने बताएको छ ।


















Discussion about this post