बद्री नारायण यादव
सिरहा,१५ कार्तिक । जनता समाजवादी पार्टी नेपाल जनतालाई मालिक बनाउने पार्टीको रुपमा अघि बढ्दै गएको सिरहा क्षेत्र नं.२ का प्रतिनिधिसभाका सदस्य राजकिशोर यादवले बताए ।
जनता समाजवादी पार्टी नेपाल वडा समिति औरही गाउँपालिका वडा नं.२ तुल्सीपुर बनिनियाँले आयोजना गरेको जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण कार्यक्रममा बोल्दै त्यस्तो कुरा बताएका हुन् ।
जनताको बल पाएर नेपाली काँग्रेस र नेकपा एमाले पार्टी ठुलो बनेपनि जनता भने सानो बन्दै गएको उनले आरोप लगाउदै भने, ‘जनतालाई ठग्ने काम बन्द हुनुपर्छ । दुईवटा पार्टीका कारण देशमा गरिबी, अशिक्षा बढ्दै बैदेशिक ऋणको भार बोक्नु बाध्यता सृजना भएको छ । मौज गर्ने ठुला पार्टीका नेता र ऋण बोकाउन जनतामाथि यो कतिको उचित छ ?’
‘चुनावका बेला ठुला कहलिएका पार्टीका नेताहरुले केही लोभ दिन्छ । केही पैसा बाँड्छ । केही झुठा आश्वासन बाँड्छ,’उनले भने,‘त्यस्ता लोभमा पर्दै गयौं भने देशमा थिति कहिले बस्दैन । जनता गरिबीको खाडलमा मात्र जानेछ । भ्रष्टाचारमा बृद्धि आउने छन् । त्यस्तै त्यस्ता लोभमा पर्नु हुँदैन् ।’
नेपाली काँग्रेस र नेकपा एमाले ठुला कहलिएका पार्टीका नेताहरु भ्रष्टाचार गरेर विदेशमा लगानी गरेको उनको आरोप छ । सुशाषन, समृद्धि र समानता जस्ता आकर्षक नारा दिएर नेताहरुले जनतालाई भ्रममा पार्दै भ्रष्टाचार गर्दै आएको कारणले हरेक नागरिकको टाउँकोमा ७५ हजारका दरले ऋण हुन गएको उनले तर्क गरे ।
‘अगाध माया र स्नेह दिएर बालन–पोषण गरेका कलिला उमेरमै छोरालाई बिदेश पठाउनु कस्तो अनुभूति हुन्छ ?,’ उनले भने,‘आफ्ना लागि नभएपनि आउने सन्ततिको भविष्यलाई विचार गरेर लोभमा नपरी थिति बसाल्नेतिर जोड दिनु । देशमा थितिमात्र बस्यो भने जनता मालिक हुन बेर लाग्दैन् ।’
तराई मधेशको मुल पहिचान र समस्यालाई पहिचान गर्दै उठान गर्ने अठोटका साथ जसपा नेपाल अगाडि बढेको प्रष्ट पार्दै उनले भने,‘राष्ट्रिय राजनीतिलाई जसपाले मात्र निकास दिन सक्नेछन् ।’ बेला–बखतमा आए जस्तै यसपल्ट फेरी जनताको भावना बटुल्न र त्यस अनुसारका नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्न जनतासँग जसपा नेपाल भन्ने अभियान थालेको उनले प्रष्ट पार्दै जनता समाजवादीमा लाग्न सबैलाई आग्रह गरे ।
भ्रष्टाचार रोक्न, सुशाषन ल्याउन र देशमै रोजगारी सृजना गर्ने संकल्पका साथ जसपा नेपाल अघि बढेकोले यस अभियानमा साथ दिन उनले सबैलाई आव्हान गरे । जनता समावादी पार्टी नेपालले किसान, मजदुर, महिला, अल्पसंख्यक वर्ग मुस्लिम लगायत राज्यको मुल प्रवाहबाट पछि परेका र पारिएका अन्य वर्गहरुका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए ।
गाउँपालिकाको चौतर्फी विकास, व्यवस्थापन, सामाजिक समानता, शैक्षिक सुधार, कृषिमा आधुनिकीकरण जस्ता अन्य मुल विषयलाई प्राथमिकतामा राखेर योजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गर्दै आएको औरही गाउँपालिकाका अध्यक्ष शिबजी यादवले बताए ।
काम गर्ने क्रममा हुने झिनामसिना त्रुटिलाई बढाई–चढाई गरी केही तत्वहरु पालिकालाई बद्नाम गर्नेतिर लागेको हुँदा त्यस्ताबाट सचेत रह्न सबैलाई उनले आग्रह गरे । पालिकाभित्र रहेका सबै वडा, टोल, बस्तीको समावेशी विकासको नीतिलाई व्यवहारमा लागु गरेर अघि बढ्दै आएको उनले दाबी समेत गरे ।
पार्टीलाई ठग्ने र जनतालाई झुक्याउने नेताको रुपमा ख्याती कमाएका माओवादी नेता जीवछ यादवले पालिकालाई बद्नाम गर्नेतिर लागेको उनले बताए । पालिका अध्यक्षमा पार्टीले टिकट नदिएपछि वडाध्यक्ष पदको उम्मेदवार आफ्नै आमालाई बनाएर पालिका स्तरको मत केही रकम लिएर बेचेको उनले आरोप लगाए ।
दुईधारे र दुईमुखे काम गर्ने व्यक्ति पालिकाले जनमैत्री काम गर्ने अभियानका साथ अगाडि बढ्दा भाँजो हाल्न भ्रामक कुरा छर्दै आएको हुँदा त्यस्ता भ्रममा नपर्न सबैसँग उनले आग्रह गरे । जीवछ यादवको व्यक्तिगत स्वार्थ पूर्ति नभएपछि पालिकाको विरुद्धमा भ्रामक कुरा छर्न थालेको उनले थपे ।
संविधान संशोधनका कुरा उठिरहेको हुँदा मधेशी जनताको न्यायोचित मागलाई समावेश गराउन खवरदारीको तयारीमा रह्न उनले सबैसँग आग्रह गरे । मधेशी जनताका लागि जसपा नेपालको बिकल्पमा अरु कुनै पार्टी नभएको हुँदा जसपामा लाग्न सबैलाई उनले आव्हान गरे ।
संजित यादव, सतिराम यादव,मालती महतो,फुलो महतो,रिंकु ठाकुर,रामकुमारी महतो नेकपा एमाले र पंचलाल मण्डल जनमत पार्टी परित्याग गरेर जसपा नेपालमा प्रवेश ग¥यो । नवप्रवेशीहरुलाई प्रतिनिधिसभा सदस्य राजकिशोर यादव, औरही गाउँपालिका अध्यक्ष शिबजी यादव र उपाध्यक्ष रेणु कुमारी यादवले गम्छा र अबिर ल्याएर पार्टी प्रवेश गराए । कार्यक्रम जसपा नेपाल वडा समितिका अध्यक्ष गुलटेन यादवको अध्यक्षमा भएको थियो ।
Discussion about this post