कार्तिक १४- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारहरू मतदाता रिझाउन व्यस्त छन् । सबैजसो उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा भ्याइनभ्याइ छन् । शीर्ष नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा व्यस्त छन् । यस्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम तय भएको छ । देउवा यहि कात्तिक १७ गते गृश जिल्ला डडेलधुरा पुग्ने तयारी भएको छ ।
उनले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्तापछि आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । डडेलधुराबाटै समानुपातिकको बन्द सूचीमा परेकी आरजुले छठ पर्व लगतजिल्ला फर्कने बताएकी थिइन् ।
अहिले डडेलधुरामा वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ । उनका अनुसार १७ कात्तिकमा देउवा डडेल्धुरा पुग्ने कार्यक्रम रहेको छ । “१७ गतेदेखि चार दिने कार्यक्रमका लागि प्रधानमन्त्रीज्यू डडेलधुरा जाने कार्यक्रम रहेको छ,” उनले भने, “त्यसपछि केही दिनका लागि फेरि काठमाडौं फर्किनुहुन्छ । निर्वाचनको केही दिन अगाडि फेरि प्रधानम्न्त्रि । प्रधानमन्त्री तथा पार्टी सभापति पनि भएकाले आफ्नो जिल्लामा मात्र केन्द्रित हुने कुरै भएन ।”
देशभरि चुनाव प्रचारप्रसार गर्ने दायित्वको कारण आफ्नो मात्रै निर्वाचन क्षेत्रमा धेरै समय दिन नसक्नु स्वाभाविक भएको उनको भनाई छ । ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादीका नेताहरु पनि लागेका छन् ।
“अहिले देउवाविरुद्ध एमाले र माओवादी केन्द्रलगायतका ठुला दलको उम्मेदवारी नै छैन,” डडेलधुरा कांग्रेसका एक नेताले भने, “त्यसैले अघिल्ला चुनावभन्दा अहिलेको चुनाव देउवालाई झनै सहज भएको छ । जिल्लामा दोस्रो शक्ति रहेको माओवादी केन्द्रको सहयोगले उनको जित सुनिश्चित बनाइदिएको छ ।”अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाल लगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन् ।
Discussion about this post