मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती’

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

काठमाण्डाै – विदेशमा बस्ने नेपालका मधेशीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन मधेशी एकता समाजले नवयुवा आन्दोलनपछि देशमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर हिजाे काठमाण्डाैमा विचार मन्थन कार्यक्रम आयोजना गरेको छ ।

परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजित विचार मन्थनमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नवयुवा आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरूले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि सङ्घीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको उल्लेख गर्नुभयाे ।

मधेश आन्दोलनले ल्याएको समानुपातिक निर्वाचन प्रणालीले नै मधेशी, दलित, मुस्लिम, जनजातिहरू संसद्सम्म पुगेको र समानुपातिक व्यवस्थाकै कारणले मधेशी, आदिवासी जनजाति, दलितलगायतका समुदायले देशमा आरक्षण पाएको राउतले बताउनुभयाे ।

यस्तै कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले नवयुवा आन्दोलनमा मधेश कतै नदेखिएको बताउनुभयो । नवयुवा आन्दोलनमा मधेशी सहभागी भए पनि त्यसबाट केही नपाएको लालले गुनासाे गर्नुभयाे ।

मधेशमा असल नेतृत्वको आवश्यकता रहेकाे र त्यस्तो नेतृत्व स्थापित हुन केही समय लाग्ने बताउँदै उहाँले नेतृत्व र नेता एकदिनमा नजन्मिने उल्लेख गर्नुभयाे ।

त्यसैगरि अर्का विश्लेषक तुलानारायण साहले हरेक आन्दोलनले राज्यसँग सम्झौता गर्ने गरेको तर ती सम्झौताहरूले मधेशलाई गौण राख्ने गरेको जिकिर गर्नुभयाे । उहाँले हरेक आन्दोलनको नेता हुने तर नवयुवा आन्दोलनको नेता नै रहेको बताउनुभयो ।

नवयुवा आन्दोलनको एजेन्डा सुशासन र पुस्तान्तरणका लागि भएको तर त्यहाँ मधेश कहाँ छ भनी प्रश्न उठेको बताउँदै साहले नवयुवा आन्दोलनपछि मधेशी दलमा पुस्तान्तरणको कुरा नउठेको उल्लेख गर्नुभयाे । मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती रहेको उहाँकाे भनाइ छ ।

कार्यक्रममा सामाजिक अभियन्ता राकेश मिश्रा, विश्लेषक राजेश विद्रोही, मिथिला चित्रकार रन्जु यादव, नवयुवा नेता शिव यादव, अभियन्ता आभास गुरु, युवा अभियन्ता माजिद अन्सारी, चलचित्र अभिनेत्री सरिता साहलगायतले आ–आफ्नो धारणा राखेका थिए । यस्तै कार्यक्रममा मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले मधेशको सङ्घर्ष, एकता र भविष्यबारे कविता सुनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित