गोलबजार । एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नारासहित गोलबजार नगरपालिकाले विश्व रेबिज दिवस मनाएको छ। दिवसका अवसरमा रेबिजबाट हुने मानवीय मृत्यु रोक्न जनचेतना, घरपालुवा तथा सडक कुकुरलाई नियमित खोप र समयमै उपचारमा जोड दिइएको छ।
कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले रेबिज नियन्त्रणका लागि जनचेतना र रोकथामका कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताउनुभयो। उहाँले घरपालुवा जनावरलाई नियमित खोप लगाउने, सडक कुकुरको व्यवस्थापन तथा जनावरले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा पुग्ने विषयमा नागरिकलाई सचेत बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

नगर प्रमुख श्रेष्ठले रेबिज नियन्त्रण सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी नभई नागरिक, पशु स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा सम्बन्धित सबै सरोकारवालाको साझा प्रयासबाट सम्भव हुने उल्लेख गर्नुभयो। “रेबिजबाट हुने मृत्यु रोक्न उपचारभन्दा पनि समयमै अपनाइने सावधानी र जनचेतना महत्वपूर्ण हुन्छ। त्यसैले नगरपालिकाले पशु खोपसँगै समुदायस्तरमा सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिनेछ,” उहाँले भन्नुभयो।
कार्यक्रममा पशुप्राविधिक रमेश कुमार सिंहले रेबिज नियन्त्रणका लागि मानव, पशु तथा वातावरणीय स्वास्थ्यसँग सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले सरकार, स्थानीय तह, गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायको सहकार्यबाट मात्रै सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजका कारण हुने मृत्यु शून्यमा झार्ने लक्ष्य हासिल गर्न सकिने बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा हुने रेबिज संक्रमणमध्ये करिब ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गर्छ। समयमै आवश्यक खोप लगाएमा रेबिजबाट बच्न सकिने भएकाले कुकुरलाई नियमित खोप लगाउनु, जनावरको टोकाइबाट जोगिनु र टोकेपछि तत्काल उपचारमा जानु प्रमुख रोकथामका उपाय हुन्।

गोलबजार नगरपालिका पशुपन्छी विकास शाखा प्रमुख योगेन्द्र कुमार महतोका अनुसार नगरपालिकाले असोज ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरेको रेबिजविरुद्धको खोप अभियानमा ३९५ वटा घरपालुवा कुकुर र पाँच वटा घरपालुवा बिरालोलाई खोप लगाइएको छ।
उहाँले कुकुर वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा घाउलाई तत्काल साबुनपानीले सफा गरी सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो।

नेपालको रेबिज नियन्त्रणसम्बन्धी निर्देशिकाअनुसार घरमै पालिएको, नियमित खोप लगाइएको वा तीन महिनाभन्दा कम उमेरको कुकुरले टोकेमा पनि स्वास्थ्य संस्थामा गई आवश्यक खोपबारे चिकित्सकीय सल्लाह लिनुपर्ने हुन्छ। रेबिज संक्रमित जनावरको दूध वा दुग्धजन्य पदार्थ सेवनबाट भने रेबिज नसर्ने जनाइएको छ।
बालबालिकामा जनावरको टोकाइबाट रेबिजको जोखिम बढी हुने भएकाले विद्यालयस्तरमै कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्ने उपाय, प्राथमिक उपचार र रेबिज रोकथामसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने शाखा प्रमुख सिंहले बताउनुभयो।

रेबिजको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने, घरपालुवा तथा सडक कुकुरलाई नियमित खोप दिने र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिन सके सन् २०३० सम्म रेबिजका कारण हुने मृत्यु शून्यमा झार्ने लक्ष्यमा सहयोग पुग्ने उहाँको भनाइ छ।



















Discussion about this post