आँसु र हाँसो : दुवैले हामीलाई स्वस्थ राख्छन्

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS
कुनै फिल्म वा सिरियल हेर्दा वा खुसी हुँदा आँसु आउनु कमजोरी होइन भन्ने ठान्नुस् । दिनदिनै हाँस्नु र समय-समयमा आँसु खसाल्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक छन् ।

एजेन्सी मान्छे खुसी वा दुःखी हुँदा आउने आँसुले मानिसको दिलको भाषा बोल्छ । हाँसोले रोगलाई निमिट्यान्न पार्न सक्दैन तर रोगको अवस्थामा कमि ल्याउन सक्छ भन्ने कुरा उदाहरणबाट थाहा हुन्छ । एक जना पत्रकार नर्मान कुजिनले ‘एनाटोमी अफ एन इलनेस्’ (रोगको खाका) मा जीवनको बारेमा लेखेका छन् ।

सन् १९७० मा उनको ढाडको नसा खिइँदै जाने समस्या भएको थियो । डाक्टरले जीवनको केही समय मात्र बाँकी रहेको कुरा बताएपछि ती पत्रकारले, डाक्टरको सल्लाहले नै एउटा व्यावहारिक परीक्षण गरे । उनले थुप्रै हास्यव्यंग्यका रमाइला फिल्महरू हेरे । फिल्महरू हेर्दा उनी धेरै हाँसे र त्यसपछि त दुखाइ कम गर्ने औषधि नखाएर नै घन्टौं निदाउन सके ।

यसरी हास्यव्यंग्य फिल्म हेर्दाहेर्दै उनको समस्या त धेरै मत्थर भयो । कतिपय वैज्ञानिक र डाक्टरहरूले हाँसोले रोग मत्थर पार्ने कुरालाई हाँसोमा उडाए पनि ‘न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिन’ले यो घटनालाई अध्ययन गरेर छापे, स्वास्थ्य र हाँसोको बीच सीधै सम्बन्ध रहेको कुरा देखायो ।

तर अझै चिकित्साशास्त्रका किताबहरूमा हाँसो र स्वास्थ्य भनेर कतै छलफल भएको छैन । तर, बेस्सरी हाँसेपछि केही मानिसको शरीरमा गरेको अध्ययनले के देखायो भने व्यायाम गरेपछि शरीरमा हुने सकारात्मक परिवर्तन झैं, हाँसोपछि पनि सकारात्मक परिवर्तन हुन्छ । शरीरभित्र अक्सिजनको मात्रा पनि बढेको पाइयो ।

बालबालिका सयौं चोटि मुस्कुराउने गर्छन् । तर वयस्कहरू धेरै हाँस्दैनन् । ओंठ खोल्न गाह्रो मान्छौं । मरी-मरी, पेट मिची-मिची, मर्ने गरी, आँसु आउने गरी हाँस्ने भन्ने कुरा त ठूला मानिसहरूले शायदै गर्छन् होला !

आजकल त हाँसोको बारेमा यति धेरै छलफल हुन थालेको छ कि स्वास्थ्य राम्रो राख्न योगासनका विभिन्न आसनमध्ये ‘हास्यासन’ पनि एक छ- चाहे रामदेवको होस् वा रविशंकरको ।

कुनै उच्च पदमा कार्यरत महिला वा पुरुषलाई कसैले ‘तपाईं कति हाँस्नुहुन्छ, कहिले हाँस्नुहुन्छ ?’ भनी सोधे भने धेरैको उत्तर हुन्छ होला- ‘के पो कुरा छ र हाँस्ने ? काममा यति धेरै व्यस्त भइएको छ कि हाँस्ने फुर्सद नै हुँदैन !’

हाँस्ने पनि फुर्सद नहुनेहरूको मनमा के आनन्द हुन्छ होला त ? हतार-हतार काममा जानु, काम सिध्याउनु अनि त्यसपछि एकछिन पत्रिका हेर्नु वा भोलिको कामको बोझ टाउकोमा बाँधेर सुत्नु यही हुन्छ कतिपयको अवस्था ।

उमेर बढ्दै गएपछि, व्यस्त भएपछि, पैसा भएपछि हामीहरू हाँस्ने प्रक्रिया हुन्छ । किनकि, हामी ठान्छौं कि जति पढ्यो, लेख्यो जति पैसा कमायो उति गम्भीर अनुहार बनाउनुपर्छ । तर नहाँसेर हामी स्वास्थ्यका कतिपय लाभदायक कुरा गुमाइरहेका हुन्छौं ।

आधुनिक जमानामा मुटुको समस्या हुने थुप्रै कारणमध्ये तनाव पनि एक भएकोले तनाव हुँदा शरीरमा पैदा हुने हर्मोनले रक्तनलीलाई हानि पुर्‍याउँछन् र धमनीहरू खुम्चिन सुरु हुन्छ । हाँस्दा तनाव पनि कम हुँदा मुटु स्वस्थ रहन सक्छ । हाँस्दा खानामा रुचि बढाउने हर्मोन पनि मानिसको रगतमा बढेको पाइएको थियो ।

मानिसहरू दुःखी हुँदा, प्रेममा विछोडिंदा, कसैको मृत्यु हुँदा, कोही टाढा जाँदा वा पि्रयजन बिरामी हुँदा मनमा दुःख हुन्छ, उनीहरू हाँस्न वा मुस्कुराउन सक्दैनन्, त्यो बेलामा भोक पनि कम लाग्छ । पछि समयसँगै विस्तारै मन बहलिंदै जान्छ, मनको दिक्दारीपन कम हुँदै जाँदा हाँस्न र मुस्कुराउन थालिन्छ र भोक फेरि जाग्छ ।

हामीहरूले देखेका छौं कि अनुहार अँध्यारो पार्ने, मुस्कुराउन गाह्रो मान्ने मानिसहरूका साथी पनि कम हुन्छन् । उनीहरूलाई जब कुनै समस्या पर्छ त्यस्तो बेला मद्दत गर्ने मानिसहरू पनि कम नै हुन्छन् । त्यस्ता मानिसहरू मनमनै बडो दुःखी पनि हुन्छन् । सामाजिक रूपमा पनि उनीहरू अस्वस्थ हुन्छन् । त्यसैले हाँसोले जीवनलाई स्वास्थ्य राख्ने मात्र होइन कि आफ्नो काममा (सानो ठूलो जस्तोसुकै होस्) पनि मद्दत गर्छ ।

नेपालमा धन्न, अहिलेसम्म हामीलाई रुन सिकाउने शिक्षकको खाँचो छैन । तर लोग्ने मानिसहरूलाई ‘रुँदैमा, आँसु खसाल्दैमा कमजोर हुनु होइन’ भन्ने सिकाउने मानिसको चाहिं खाँचो छ

स्वस्थ शिशु हाँस्छ र मुस्कुराउँछ । आनन्दसँग हाँस्ने शिशु/बालक छिट्टै बढ्छ र उसलाई कुनै सानोतिनो रोग लागे पनि छिट्टै समाधान हुन्छ । जबकि नहाँस्ने, नमुस्कुराउने शिशुमा समस्या बढी हुन्छ । त्यसैगरी यदि शिशुसँग हाँसेर कुरा गरिरहने परिवारका सदस्यहरूको बानी छ भने त्यही बानी शिशुले सिक्छ र हाँसिरहन्छ जबकि नहाँसेर अनुशासनको नाममा कठोर अनुहार लगाइरहने आमाहरूका शिशुहरू पनि त्यस्तै हुन्छन् ।

विभिन्न अनुसन्धानहरूले देखाए अनुसार बाँदर, बिरालो पनि खुशी भएर आˆनो भाव प्रकट गर्न सक्छन् । हा.. हा.. हा… गरेर हाँसेपछि स्वास्थ्यमा प्रभाव पर्छ भनेर नै होला, सन् २००५ मा अमेरिकाको बाल्टिमोरको मेरिल्याण्ड विश्वविद्यालयका अध्यक्ष डा. मिखाइल मिशेलले एउटा विशेष अध्ययन गरे ।

उनले ३०० जना व्यक्तिलाई यस अध्ययनमा सामेल गरे । तीमध्ये १५० जना चाहिं मुटुको विभिन्न समस्या भएका मानिसहरू थिए, १५० जना चाहिं मुटु स्वस्थ भएका मानिस थिए । उनले सबैलाई केही प्रश्नहरू दिए र उनीहरूको प्रतिक्रिया पनि हेरे । उनले के पाए भने जुन मानिसको मुटु खराब भएर उपचार गरिराखेका थिए, उनीहरू कम हाँस्ने, रमाइलो, व्यंग्य, हाँसोको कुरा पढ्दा पनि खासै नहाँस्ने र अझ कतिपयहरू त साधारण कुरामा नै रिसाउने गर्ने पनि पाए । जबकि स्वस्थ मुटु भएका मनिसहरू साधारण कुरामा पनि हाँस्ने गरेको पाए । प्रत्येक दिन १५-२० मिनेट दिल फुकाएर हाँस्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । अब तपाईंहरू पनि आफ्नो वरिपरि मुस्कुराउनुहोस्, हाँस्नोस् र स्वास्थ्य राम्रो पार्नोस् !

‘रुनु पनि हाम्रो लागि राम्रो हो’

केही दुःखको कुरा भयो भने हाम्रो आँसु आउँछ, सुखको कुरा सुने पनि आँसु आउँछ । प्रायः हाम्रो समाजमा रुवाइलाई कमजोरीको प्रतीक मानिन्छ । ‘हेर बच्चा जस्तै रोएको’ वा ‘स्वास्नीमान्छे जस्तो आँसु खसालेको’ भन्ने चलन छ । ‘लोग्ने मानिस रुनुहुन्न’, ठूलो मान्छेले आँसु खसाल्नुहुन्न भन्ने हाम्रो परम्पराले मानिसहरू दुःखी हुन्छन् । मान्छेको स्वास्थ्य राम्रो पार्न हाँस्नुपर्छ भन्ने त हामीले सुनेका छौं तर ‘आँसु खसाल्नु’ पनि स्वस्थ हुनु हो भन्ने प्रायःलाई थाहा हुँदैन ।

‘रुई-कत्सु सेमिनार’ -जापानिज आँसु खसाल्ने सेमिनार) कसैले सुनेको छैन । ‘हिडेफुमी योशिडा’ (आँसु शिक्षक) जापानमा आँसु शिक्षक पनि रहेछन् । सुन्दा अचम्म लाग्छ, आँसु शिक्षकले के सिकाउँदा हुन् भनेर । ‘म साढे सात वर्षदेखि आँसु शिक्षकको रूपमा काम गरिरहेको छु । मेरो काम भनेको मानिसहरूलाई रुवाएर त्यसबाट उनीहरूलाई स्फूर्ति प्रदान गराउनु हो’, ती शिक्षकले भने ।

जापानमा करिब ५० हजार मानिसको आँखामा आँसु ल्याउन सफल भएका उनी भन्छन्, ‘मानिसहरू आँखामा आँसु ल्याउन चलचित्र, बच्चाको किताब, अक्षरहरू (जस्तैः परिवार, जनावर, खेलाडी वा प्रकृति आदिको) प्रयोग गर्छन् । रुई-कत्सु (रुने सेमिनार) को सबैभन्दा महत्वपूर्ण फाइदा भनेको तनावलाई कम गर्छ । रुँदा, आँसु झार्दा जुन भावना आउँछ, त्यसले तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । थोरै मात्र पनि आँसु झार्दा तनाव कम हुन्छ । जति आँसु खसालेर रुनुहुन्छ, त्यति राम्रो महसुस गनर्नुहुन्छ ।’

हामी नेपालीहरूलाई चाहिं यसरी आँसु ल्याउनको लागि कुनै शिक्षक चाहिन्न । हामी अनेक बहानामा समय-समयमा रोइरहन्छौं । धेरै समयसम्म नभेटेको साथी, नातेदार भेट्दा, कसैको मृत्युमा, दुःखी भएर, बच्चा जन्मिंदा, बच्चाहरू जाँचमा पास हुँदा पनि खुशसी भएर रुन्छौं । कोही नजिकको मान्छे बिरामी भएको सुन्दा आँसु खस्छ भने ऊ निको भएको सुन्दा पनि आँसु खस्छ ।

आँखाबाट आँसु खसाल्नुका शारीरिक र मानसिक दुवै फाइदा छन् । यसले मन शान्त राख्न, दुखाइलाई सहन र मानसिक तनावलाई कम गर्न मद्दत गर्छ । जापानमा मानिसहरू सजिलै रुँदैनन् । रुनु कमजोरीको चिहृन भन्ठान्ने धेरै भएको जापानी समाजमा मानिसलाई रुन गाह्रो भएको छ । धेरैजसो जापानी रुवाइलाई रोक्छन् ।

‘सानो उमेरदेखि नै हामीलाई नरुनु भनेर सिकाइन्छ । अनि आफ्नो आँसु त देखाउनुहुँदैन भनेर हुर्कन्छौं । यसले हामीलाई बिरामी बनाउँछ र तनाव गराउँछ’, रुन सिकाउने शिक्षक भन्छन् ।

‘प्रायः हामी रुनुलाई नकारात्मक रूपमा हेर्ने गर्छौं । यसमा मेरो भूमिका भनेको मानिसहरूलाई नडराउन र यसप्रति रहेको नकारात्मक विचारलाई हटाउन सहयोग गर्नु रहेको छ’, रुन सिकाउने जापानिज शिक्षक भन्छन् ।

नेपालमा धन्न, अहिलेसम्म हामीलाई रुन सिकाउने शिक्षकको खाँचो छैन । तर लोग्ने मानिसहरूलाई ‘रुँदैमा, आँसु खसाल्दैमा कमजोर हुनु होइन’ भन्ने सिकाउने मानिसको चाहिं खाँचो छ । महिलाहरू चाहिं हिन्दी सिरियल वा सिनेमा हेर्दा पनि रोइदिन सक्छन्, आँसु खसाल्छन् । तर लोग्ने मानिसहरू चाहिं मनमा भक्कानिएर पनि बाहिर केही नभएको जस्तो देखाउँछन् । भित्रभित्रै गुम्सिएर बस्छन् । अनि दुःखी हुन्छन् ।

नेपालमा रोएपछि कस्तो अनुभव हुन्छ भनेर कसैले अनुसन्धान गरेको छैन । किनभने हामीहरू सबैलाई भावनात्मक कुराहरूले छोएपछि आँसु आउँछ । रुन सिकाउने जापानिज शिक्षक भन्छन्, ‘मेरो विचारमा रुई-कत्सुले हामीलाई अझ राम्रोसँग बाँच्न सिकाउँछ । यसबाट आध्यात्मिक फाइदा पनि छन् । रुने कार्यक्रममा आएर आँसु खसालेपछि सहभागीले ज्ञान, ज्योति प्राप्त गरे जस्तो लाग्छ ।’

हामीमध्ये कसैलाई कुनै खुसीको कुरा सुन्यो भने आँखाभरी आँसु आउँछ । कुनै फिल्म वा सिरियल हेर्दा वा खुसी हुँदा आँसु आउनु कमजोरी होइन भन्ने ठान्नुस् । दिनदिनै हाँस्नु र समय-समयमा आँसु खसाल्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1